काठमाडौं– चालू आर्थिक वर्षको वैशाखमा २८ परियोजनामार्फत जम्मा १ अर्ब ६४ करोड ८३ लाख २० हजारको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको उद्योग विभागको तथ्यांकले देखाएको छ। चैतमा ह्वात्तै बढेको विदेशी लगानी प्रतिबद्धता वैशाखमा कमी आएको विभागले जनाएको छ। चैतमा ३३ परियोजनामार्फत ७ अर्ब ५५ करोड १८ लाख वैदेशिक लगानी प्रतिबद्धता आएको थियो।
साना उद्योगमा मात्र लगानी प्रतिबद्धता आएको छ। ठूला र मझौला उद्योगमा लगानी प्रतिबद्धता नआएको विभागको विवरणमा उल्लेख छ। वैशाखमा सबैभन्दा धेरै सेवामूलक परियोजनामा १३, पर्यटन उद्योगमा ८, सूचना प्रविधिमा आधारित ३, पूर्वाधारमा २ परियोजनामा लगानी प्रतिबद्धता आएको छ।
वैशाखमा २८ परियोजनामार्फत १ हजार २७२ जनालाई रोजगारी दिने प्रतिबद्धता गरिएको छ। वैशाखमा १३९ बिजनेस भिसा, ४७ प्रतिनिधि लक्षित गरेर ११५ वटा भिसा सिफारिस गरिएको विभागले जनाएको छ। अन्य महिनाको तुलनामा चैतमा सबैभन्दा धेरै वैदेशिक लगानी प्रतिबद्धता आएको विभागको भनाइ छ।
विभागका अनुसार चालू आवको साउनमा २ अर्ब ६४ करोड ९ लाखको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो। भदौमा ३ अर्ब ४४ करोड ६५ लाखको लगानी प्रतिबद्धता भएको छ। असोजमा १ अर्ब ८५ करोड ४७ लाखको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।
कात्तिकमा ३ अर्ब ६५ करोड, मंसिरमा ८० करोड ८ लाखको प्रतिबद्धता आएको छ। पुसमा ४ अर्ब ८५ करोड २० लाख, माघमा १ अर्ब ३९ करोड र फागुनमा १ अर्ब ९२ करोड २९ लाखको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामीले बताए।
स–साना परियोजनामा लगानी आएकाले वैशाखमा वैदेशिक लगानी प्रतिबद्धतामा कमी आएको उनको भनाइ छ। ‘चैतमा एउटै परियोजनामा ५ अर्ब लगानी प्रतिबद्धता आएकाले लगानी बढेको हो। विश्व अर्थतन्त्रमा देखा परेको आर्थिक संकटका कारण विदेशी लगानी प्रतिबद्धता घटेको हुन सक्छ’, उनले भने।
सरकारले वैदेशिक लगानीको सीमा घटाएसँगै सानो लगानीका विदेशी परियोजनामार्फत लगानी बढ्ने अनुमान गरिए पनि सोअनुसार लगानी आउन नसकेको विभागले जनाएको छ।गत मंसिरदेखि विदेशी लगानीको सीमा ५ करोडबाट घटाएर २ करोडमा झारिएको थियो। हालसम्म ४ खर्ब ४९ अर्ब ९६ लाख १३ हजारको वैदेशिक लगानी प्रतिबद्धता आए पनि ३० देखि ३५ प्रतिशत रकम मात्रै नेपाल भित्रिने गरेको विभागका अधिकारी बताउँछन्।


