काठमाडौँ– कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई छलफलका लागि बोलाएका छन्। देउवाले आफ्नै निवास बुढानीलकण्ठमा पार्टीबाट सरकारमा सहभागी भएका १२ मन्त्री र दुई राज्यमन्त्रीलाई छलफलका लागि बोलाएका हुन्।
सभापति देउवाले संसदीय दलको कार्यसमिति र मन्त्रीहरूबीच अर्न्तक्रियाका लागि बैठक बोलाइएको गृहमन्त्री रमेश लेखकले बताए। संसद् अधिवेशन सुरु हुनुअघि तयारीका लागि बैठक बोलाइएको मन्त्री लेखकको भनाइ छ।
सरकारमा सहभागी भएका केही मन्त्रीहरूको प्रभावकारितालाई लिएर पार्टीभित्र र बाहिर पनि प्रश्न उठिरहेको बेला देउवाले मन्त्रीहरुको बैठक बोलाएका हुन्।


