यो हामी सबैको संसद हो। यस सदनमा हामी कोही सरकार पक्ष छौं, कोही प्रतिपक्ष छौं। यो हामीले रोजेर ल्याएको प्रणाली हो–बहुदलीय प्रणाली, सत्तापक्ष र प्रतिपक्ष हुने प्रणाली, संवैधानिक सत्तापक्ष र संवैधानिक प्रतिपक्ष हुने प्रणाली।
जनताका हितमा, राष्ट्रलाई अलमलबाट तीव्र गतिको विकासमा लैजान कोही पनि प्रतिपक्ष हुनै पर्दैन, यस काममा हामी सबै मिलेर अगाडि बढौं भन्ने म आग्रह गर्न चाहन्छुु। संसद्को यस अधिवेशनले आवश्यक नयाँ कानुन दिएर विकासको रफ्तारलाई तीव्रता दिन नयाँ रेकर्ड राख्ने छ भन्ने मेरो विश्वास छ।
एउटा कुरा म भन्न चाहन्छु, अघि पनि धेरै पटक म यहाँ सुनें–संसद प्रतिपक्षको हो भनेर। अनि सत्तापक्षको यो के हो त रु यो हामी सबैको संसद हो। हामी सबैले विचार व्यक्त गर्ने संसद हो। हामी विचारहरु ल्याउँछौं, हामी छलफलहरु गर्छौँ। खासगरी प्रस्तावहरु, विधेयकहरु सबै सरकारले ल्याउँछ। त्यसकारण यो प्रतिपक्षीको संसद हो, सरकारले ल्याउन पाउँदैन भन्ने कुरा हुँदैन। विधेयकहरु सरकारले ल्याउँछ। सदनलाई बिजनेस दिने काम सरकारको हो। हामी सबैले थितिविधि नियम अनुसार सदन चलाउँछौं र आफ्ना अभिव्यक्तिहरु राख्छौं।
मलाई एउटा कुरामा सन्तोष लागेको छ, सरकारले कुनै आलोचनायोग्य काम गरेको पाइएन। सन्तोषजनक काम नगरेको भन्ने कुनै कतैबाट आलोचना उठेको पाइएन। बरु हावादारी कुराहरु बजारमा छरेको पाइयो।
स्वीट्जरल्याण्ड बैंकमा यति अर्ब डलर लुकाएर राखेको छ, श्रीमतीका नाममा लुकाएर राखेको छ, अर्को टेलिकममा यति अर्व लुकाएर राखेछ, यस्ता खालका झुटहरु, यसमा यति खाएको छ भन्ने, तिनी मान्छेहरु पनि कराइराखेका छन्, जो सुन भनेर पशुपतिमा पित्तल चढायो भनेर छानबिन गराउने मान्छेहरु पनि अहिले कराइराखेको सुन्छु। यस्तै हावा कुरा गरेर भ्रम फिजाउने कामहरु भएको देख्दा सरकारका काममा आलोचना गर्ने कुनै ठाउँ रहिनछ। त्यसैकारण यस्तै काल्पनिक कुराहरुको आश्रय लिनु पर्यो।
म सरकारका कामकारबाहीहरुको रचनात्मक आलोचना होस् भन्ने चाहन्छुु, सरकारलाई गल्ती गर्नबाट रोक्न आलोचना, टिप्पणीहरुको आवश्यकता हुन्छ र प्रतिपक्षले यस्ता कुराहरुमा खवरदारी गर्छ र गर्नु पर्दछ कि सरकार यस्ता गल्ती गर्दै छ, यो गल्ती नगरोस् भनेर। तर चरित्र हत्या गर्नका लागि यस्ता कपोकल्पित, झुटा, निराधार, हुनै नसक्नेखालका अफवाहहरुको सिर्जना गर्नु र तिनीहरुको गीत गाएर कुद्नु यो अनुचित पनि छ, यो संसदीय प्रणाली, लोकतान्त्रिक प्रणाली र हाम्रो राजनीतिक दलहरुको आफ्नै मर्याद र गरिमाभन्दा विपरीत छ।
म फेरि पनि दावासाथ भन्छु, दुनियाँको अगाडि उभिएर भन्न चाहन्छुु, म भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ। कसैसँग दम छ भने भ्रष्टाचार गरेको कुनै पनि मात्रामा, कुनै पनि ठाउँमा, कुनै पनि सन्दर्भमा भ्रष्टाचार गरेको एउटा कुरा [प्रमाण] ल्याओस्। असम्बन्धित कुराहरुलाई जोडेर यस्ता कुराहरु त्यति सान्दर्भिक हुँदैनन्।
म के अपेक्षा गर्न चाहन्छुभने, यो संसदको पाँचौ अधिवेशन अत्यन्तै ओजनदार होस्, यो झुटा आरोप, प्रत्यारोपमा सीमित नहोस्, त्यस्ता कुराहरु नउठुन्, यसले देश र जनताको हितको पक्षमा, सार्वभौमसत्ताको पक्षमा, राष्ट्रिय हितको पक्षमा, जनताको खुसालीको पक्षमा, देशको सुशासनको पक्षमा जमेर छलफल गरोस् र सरकारलाई गम्भीर सुझावहरु देओस्। म त्यो अपेक्षा गर्न चाहन्छु।
(प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा गरेकोस सम्बोधनको सम्पादित अंश)


