२०८३ कार्तिक २४ गते सोमबार

दासढुंगा दुर्घटना : पत्रपत्रिकाले दिएको स्थान

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ३
dasdhunga

काठमाडौँ- नेपालका अग्रणी राजनीतिक व्यक्तित्व तथा जनताको बहुदलीय जनवादका मार्गदर्शक  जननेता मदन भण्डारीको निधन भएको आज ३२ वर्ष पूरा भएको छ। २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा जीवन गुमाएका भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितलाई श्रद्धासुमन व्यक्त गर्न नेकपा एमाले र एमाले फुटेर बनेको दल नेकपा एसका विभिन्न कमिटीसहितका संघसंस्थाहरूले सभा आयोजना गरेका छन्।

इमान्दार र दूरदर्शी नेताको छवि बनाएका भण्डारीले प्रतिपादन गरेको विचार ‘जनताको बहुदलीय जनवाद- जबज’ हाल नेकपा एमालेको मुख्य मार्गनिर्देशक सिद्धान्त छ। कम्युनिस्टहरू एकतन्त्रात्मक शासन प्रणालीमा विश्वास गर्ने आरोप विश्वभर लागिरहेका बेला भण्डारीको सिद्धान्त जबजले एमालेलाई बहुलवादी प्रजातान्त्रिक शक्तिमा रुपान्तरण गर्न सफल बनेको थियो। जनतासँग निकट सम्बन्ध बनाएका उनलाई ‘जननेता’को उपाधि पनि दिइएको छ।

दासढुंगा दुर्घटनामा चालक अमर लामा मात्र जीवित बचेका थिए। पछि उनको पनि हत्या भयो। त्यसपछि दुर्घटना मात्र थियो वा यसमा षड्यन्त्र थियो भन्ने कुरा रहस्यकै गर्भमा छ। एमालेका नेताहरूले यसलाई षड्यन्त्र बताउने गरेका पनि छन्। तर एमालेले नै सत्ताको नेतृत्व गर्दा र भण्डारीकै पत्नी विद्यादेवी राष्ट्रकै सर्वोच्च पद राष्ट्रपतिमा निर्वाचित भएर दुई कार्यकाल पूरा गर्दा पनि यसको सत्यतथ्य बाहिर ल्याउने गरी काम गरेनन्।

तर आजसम्म पनि मिडियामा उनको मृत्युको विषयमा चर्चा भइरहेको छ। उनको मृत्युको विषय त्यस बेलाका मिडियाले कस्तो स्थान दिएका थिए भन्ने विषयमा रमेश राईको अनुसन्धानमूलक लेख ‘मदन भण्डारी छवि निर्माणमा प्रकाशनको भूमिका‘मा चर्चा गरिएको छ। प्रस्तुत छ उक्त आलेखको संक्षिप्त अंश:

दासढुंगा दुर्घटना : पत्रपत्रिकाले दिएको स्थान
दासढुंगा दुर्घटना र मदन भण्डारीसम्बन्धी सामग्रीको प्रचारप्रसारमा मिडियाले देखाएको तत्परता एक हिसाबले व्यापक थियो।

कान्तिपुर दैनिकले २०५० जेठ ४ को अंकमा ‘एमाले महासचिवको जीप दुर्घटनाग्रस्त’ शीर्षकमा मदन भण्डारीको फोटोसहित समाचार छापेको थियो भने गोरखापत्रले ‘जीप त्रिशूलीमा डुब्यो मदन भण्डारी, जीवराजको स्थिति अज्ञात’ शीर्षकमा मदन भण्डारीको फोटोसहित समाचार प्रकाशन गरेको थियो। दुर्घटनासम्बन्धी समाचार नेपाली दैनिक र साप्ताहिकले महत्त्वसाथ प्रकाशन गरेका थिए। द राइजिङ नेपालले पनि समाचारका साथसाथै ‘नेशनल ट्राजिडी’ शीर्षकमा सम्पादकीय छाप्यो। कान्तिपुरले जेठ ५ गतेको अंकमा ‘दासढुंगा दुर्घटना र जेठ ७ गतेको अंकमा ‘श्रद्धाञ्जलि’ शीर्षकमा दुईओटा सम्पादकीय छापेको थियो भने गोरखापत्रले जेठ ७ गतेको अंकमा ‘अपुरणीय राष्ट्रिय क्षति’ शीर्षकमा सम्पादकीय छापेको थियो।

नेपाली दैनिक र साप्ताहिकले दासढुंगा दुर्घटनाबारे व्यापक रूपले समाचार र सम्पादकीय टिप्पणी प्रस्तुत गरेका थिए। राजधानीबाट नेपाली, अंग्रेजी र नेपाल भाषामा प्रकाशित पत्रपत्रिकाले सम्पादकीय र विचारका रूपमा मदन भण्डारीसम्बन्धी सामग्रीलाई महत्त्व दिएका छन्। सम्पादकीय टिप्पणीमा मदन भण्डारीलाई ‘समकालीन राजनीतिका प्रखर चिन्तक, कम्युनिस्ट आन्दोलनका नवीन विचारक, जनताको बहुदलीय जनवादका सिद्धान्तकार, मार्क्सवाद-लेनिनवादका सिर्जनात्मक व्याख्याता, कम्युनिस्ट आन्दोलन लोकतन्त्रीकरणका नायक’ भनेर प्रस्तुत गरिएको छ। यस्तो प्रस्तुति उनको वाम-राजनीतिमा देखिएको सैद्धान्तिक नौलोपनको आधारमा राजनीतिक छवि निर्माणमा केन्द्रित देखिन्छ।

पत्रपत्रिकामा यस्तो टिप्पणी स्वाभाविक थियो, किनकि मदन भण्डारीले खुला राजनीतिमा जबजमा आधारित राजनीतिज्ञको भूमिका निर्वाह गरेका थिए। नेपाली पत्रपत्रिकाका सम्पादकीयमा दासढुंगा दुर्घटना, मदन-आश्रितको व्यक्तित्व वा योगदान र नेपाली राजनीतिमा आएको रिक्तताको सन्दर्भलाई बढी महत्त्व दिएर छापेको देखिन्छ। सम्पादकीय र वैचारिक लेखमा विभिन्न उपमाले सम्बोधन गर्ने कसरत मदन भण्डारीको मृत्युको खबर निश्चित हुनासाथ सुरु भएको देखिन्छ। पत्रकार जिवेन्द्र सिम्खडाले २०५० जेठ ६ गते कान्तिपुरमा ‘एउटा नक्षत्रको अस्त’ शीर्षकमा लेख लेखेका छन्। यस्तै, जेठ ७ को कान्तिपुरले सम्पादकीयमा मदन भण्डारीका लागि ‘जननेता’ उपाधि प्रयोग गरेको छ (कान्तिपुर २०५०ग)। यद्यपि यो उपाधि दिने निर्णय नेकपा (एमाले) को जेठ ९ मा बसेको पाँचौँ पूर्ण बैठकले मात्रै गरेको थियो। अथवा पत्रपत्रिकाले सम्बन्धित दलले निर्णय गर्नुअघि नै मदन भण्डारीलाई जननेताको उपाधि दिएका थिए।

नेपाली भाषाबाहेक अंग्रेजी भाषाका ६ ओटा पत्रपत्रिकाले सम्पादकीय लेखेको दखिन्छ। १५ नेसनल ट्राजिडी, ट्राजिक, अ ट्राजिक एक्सिडेन्ड जस्ता शीर्षकले घटनाप्रतिको संवेदनशीलता र त्यसले आमनागरिकलाई परेको पीर र पीडालाई सम्बोधन गर्न खोजेको देखिन्छ। मिस्टेरियस डेथ जस्ता शीर्षकले आशंकालाई ठाउँ दिने एवं घटनालाई उत्तेजित बनाउने विचार सम्प्रेषण गरेको देखिन्छ। केही शीर्षक ‘द क्रेडिबिलिटी ग्याप’ र ‘अ वर्थी सन’ले मदन भण्डारीको अभावलाई नेपालको प्रजातान्त्रिक पद्धतिको विकाससँग जोडेर हेर्न खोजे जस्तो देखिन्छ। आश्रितको विषयलाई छुन खोजे पनि अधिक शीर्षक मदन भण्डारी केन्द्रित देखिन्छन्।

नेपाली भाषामा प्रकाशन हुने दैनिक समाचारपत्रका सम्पादकीयले पनि मदन भण्डारीकृत जबजलाई केन्द्रमा राखेर उनको मूल्यांकन गरेको छ। १६ गोरखापत्र आफ्‌नो सम्पादकीयमा लेख्छ, छिन्नभिन्न वामपन्थी दलहरूलाई एकीकृत पार्नदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवर्तित राजनीतिक वस्तुस्थितिमा मार्क्सवादलाई बहुदलीय प्रजातन्त्रप्रति कटिबद्ध रही नयाँ स्वरूप प्रदान गर्न पुऱ्याउनुभएको योगदान नेपाली राजनीतिमा अविस्मरणीय रहनेछ’ (गोरखापत्र २०५०ख)। विचारमा केन्द्रित सम्पादकीयको भाषाले उनलाई पछिल्ला पुस्ताले कसरी सम्झने भन्ने आधारको निक्र्यौल गरेको छ भन्न सकिन्छ।

साप्ताहिक पत्रपत्रिकालाई पक्षधरताका आँखाबाट बढी हेर्ने गरिएको छ। यति हुँदाहुँदै पनि अध्ययनमा समेटिएका विभिन्न विचारधाराका साप्ताहिक पत्रपत्रिकाले मदन भण्डारीबारे निकै सकारात्मक भएर लेखेका छन्। धेरैजसो साप्ताहिक पत्रपत्रिकाले सम्पादकीयमार्फत यो दुखद् घटनाका विभिन्न पाटालाई समेट्ने प्रयास गरेको देखिन्छ। १७ जनमञ्च साप्ताहिकको सम्पादकीयमा लेखिएको छ- उहाँ कट्टर कम्युनिस्टभन्दा पनि प्रजातन्त्रवादी हुनुहुन्थ्यो भनिदिएमा अन्यथा नठहर्ला। ‘बहुदलीय जनवाद’को अवधारणा प्रजातन्त्रलाई बल पुऱ्याउने साधनका रूपमा नै लिन सकिन्छ”। स्वतन्त्रता साप्ताहिकले, “नेपालका कम्युनिस्टहरूलाई संसदीय प्रजातन्त्रको बाटोबाट आफ्‌नो लक्ष्यमा पुऱ्याउन भण्डारीले ‘बहुदलीय जनवाद’लाई माध्यम बनाएर त्यसैलाई पार्टीको बहुमतद्वारा समर्पित नीतिका रूपमा कुशलतापूर्वक अघि बढाउनुभएको थियो भनेर लेखेको छ। सम्पादकीयको माध्यमबाट जबजलाई प्रमुख योगदानको रूपमा उठाउने प्रयत्न गरिएको छ। यसले मदन भण्डारीलाई राजनीतिको उचाइमा पुऱ्याउने र सधैंका लागि टिकाइरहने आधारको रूपमा सम्पादकीयमार्फत प्रक्षेपण गरेको छ।

नेकपा (एमाले) निकट भनेर चिनिने दृष्टि साप्ताहिकले लगातार तीन अंकसम्म सम्पादकीय टिप्पणी (इतिहास पुरुषको सम्झनामा, जननेता मदन भण्डारीको नासो तथा शोकलाई शक्तिमा बदलौं) क्रमशः २०५० जेठ ६, १३ र २० मा छापेको थियो (पोखरेल २०५०)। दृष्टिले आफ्‌ना सबै सम्पादकीय शीर्षक मदन भण्डारी केन्द्रित गरेको छ। यसले मदन भण्डारीसँगै दुर्घटनामा परेका अर्का नेताको उचाइ घटाउने काम नगरे पनि एकजना नेता विशेषमा केन्द्रित भएर उनको छवि निर्माणमा बढी रणनीतिक संलग्नताको आभास हुन्छ। तर, एकजना विशिष्ट नेतासँग अरू को-को परे भन्ने विषयले त्यति बढी अर्थ राख्दैन र दुर्घटनामा परेकामध्ये एकजना वरिष्ठको मात्रै चर्चा गरिनु स्वाभाविक हो भन्ने दाबी पनि दलभित्रैका जिम्मेवार कार्यकर्ताहरूले गरेका छन्।

नेकपा (एमाले) निकट मानिने सूर्य मासिक र वाम निकटको मूल्यांकन मासिकले पनि सम्पादकीय र विशेषांक प्रकाशन गरेका छन्। सूर्य मासिकले मदन भण्डारीको लोकप्रियता र यस्तो लोकप्रियताबाट तर्सेकाको षड्यन्त्र नै दासढुंगा दुर्घटना हो भनेर आफ्‌नो सम्पादकीय छापेको छ। सूर्य मासिकले ‘श्रद्धाञ्जली अंक’ नाममा एउटा अंक प्रकाशन गरेको छ। यो अंकका धेरैजसो सामग्री मदन भण्डारी केन्द्रित छन्। संस्मरण, अन्तर्वार्ता, राजनीतिक दृष्टिकोण शीर्षकमा मदन भण्डारीसँग जोडिएका विषयवस्तुको बाहुल्य रहेको छ। यो श्रद्धाञ्जलि अंक मदन भण्डारी अंक जस्तै बनेको छ। धौलागिरी सन्देशले पनि २०५० मा मदन-आश्रित स्मृति अंक प्रकाशित गरेको थियो। सारांशमा यी विशेषांक वा स्मृति अंक दुवैले मदन भण्डारीको खुबै प्रशंसा गरेका छन्।

नेपाल भाषामा प्रकाशित न्हूगु विश्वभूमि दैनिकले थ्व राजनीतिक दुर्घटना खः’ (यो राजनीतिक दुर्घटना हो) शीर्षकमा २०५० जेठ ६ गतेको अंकमा सम्पादकीय छापेको छ। साप्ताहिकहरू क्रमशः विश्वभूमि र इनाफ्ले ‘गुगु खबर राष्ट्रयात स्तब्ध यानाबिल’ (जुन खबरले राष्ट्रलाई स्तब्ध बनायो) र ‘राष्ट्रया निम्ति अपूरणीय क्षति’ (राष्ट्रको निम्ति अपूरणीय क्षति) शीर्षकमा सम्पादकीय प्रकाशन गरेका छन् (पोखरेल २०५०)। एक हिसाबले दासढुंगा दुर्घटनालाई लिएर समाजका विभिन्न पक्षबाट सरोकार देखाइएको थियो भने यसलाई त्यति बेला प्रकाशन भइरहेका सबै मिडियाले निकै चासो र चिन्ता व्यक्त गर्दै समाचार बनाएका थिए।

दासढुंगा दुर्घटना नेपाली मिडियाको चासो र प्राथमिकतामा पर्नु स्वाभाविकै हो। तर, विदेशी पत्रपत्रिकाले पनि प्रशस्त स्थान दिएका छन्, जुन अपेक्षितभन्दा पनि मदन भण्डारीको व्यक्तित्वमा केन्द्रित प्राथमिकता जस्तो देखिन्छ।

भारतीय पत्रपत्रिकामा पनि मदन भण्डारीकेन्द्रित समाचार र विचार प्रकाशित छन्। विनोद मिश्र, आनन्द स्वरूप वर्मा तथा ब्रम्हानन्द मिश्रले आ-आफ्‌ना विचार लेखेका छन्। लेखको केन्द्रमा मदन भण्डारीको कलकत्तामा अभिव्यक्त विचार तथा वि.सं. २०४८ को आमनिर्वाचनमा तत्कालीन प्रधानमन्त्रीलाई पराजित गरेको विषय उठाएका छन्। उनको खुला राजनीतिमा निर्मित छविलाई बल पुग्ने गरी विचार प्रकाशित छन्। वर्मा र मिश्र वाम-राजनीतिसँग जोडिएकाले वाम वृत्तभन्दा बाहिरको विचार कस्तो थियो भन्ने जानकारी विदेशी मिडियामार्फत सार्वजनिक भएको देखिँदैन।

दासढुंगा दुर्घटनापछिको निश्चित समयमा मात्र नभई मिडिया कभरेज आजको दिनसम्म पनि मदन भण्डारीलाई उत्तिकै प्राप्त छ। २०६७ जेठ १ गते शनिबार नागरिकले ‘कमरेड मदन’ शीर्षकमा आठ पृष्ठको अतिरिक्तांक प्रकाशन गरेको थियो (नागरिक २०६७)। नागरिककै घुमफिरअन्तर्गत ‘मदन भण्डारीको जन्मथलो’ शीर्षकमा मदन भण्डारी स्मृति प्रतिष्ठानको नमुना गाउँ अभियानसम्बन्धी सामग्री पनि प्रकाशित छ (लिम्बू २०६८)। यस्तै, नयाँ पत्रिकाले २०६८ जेठ ३ गते आवरण कथासहित मदन भण्डारीसम्बन्धी सामग्री प्रकाशित गरेको थियो (नयाँ पत्रिका २०६८)। अन्नपूर्ण शिक्षामा २०६८ जेठ ३ को अंकमा पनि मदन भण्डारी र मदन भण्डारी स्मृति प्रतिष्ठानबारे चार पृष्ठको सामग्री प्रकाशित छ (अन्नपूर्ण पोष्ट २०६८)। यस्तै गरेर प्रत्येक वर्ष जेठ ३ गतेको अवसर पारेर कुनै न कुनै राष्ट्रिय दैनिकमा सम्झनास्वरूप लेख/विचार प्रकाशित हुने गरेको देखिन्छ। पछिल्ला अवधिमा मदन भण्डारीसम्बन्धी सामग्री नेपाली ब्रोडसिट पत्रिकामा पनि छाइरहेका छन्।

नेकपा (एमाले) को मुखपत्र नवयुग २०६६ जेठ अंक ‘जननेता मदन भण्डारी जबज विशेषांक’को नाममा प्रकाशित छ (नवयुग २०६६)। मदन भण्डारी फाउन्डेसनको वार्षिक प्रकाशन आजको दिशाबोध मदन स्मारिका प्रकाशित छन्। मदन भण्डारी मेमोरियल कलेजको वार्षिक प्रकाशन श्वेत शार्दूल पनि मदन भण्डारीको भूमिगत नामबाट जुराइएको हो। श्वेत शार्दूल आठ अंकसम्म प्रकाशित छ। यसबाहेक पार्टीका भ्रातृ संगठनका प्रकाशन, सम्पर्क मञ्च र सम्पर्क समितिका प्रकाशन, पार्टीका विभिन्न समिति र निकायका प्रकाशनमा पनि मदन भण्डारीबारे प्रशस्त लेखिने गरेको छ।

मदन भण्डारीलाई केन्द्रमा राखेर दासढुंगा दुर्घटनालगत्तै प्रशस्त मिडिया कभरेज भएका छन्। समाचार, सम्पादकीय टिप्पणी तथा लेखमार्फत मदन भण्डारीलाई मिडियामा व्यापक स्थान दिइएको ती सामग्रीले देखाउँछ। यो क्रम अठार वर्षसम्म पनि कुनै न कुनै रूपमा विद्यमान छ। अझ पछिल्लो समयमा उनकै नाममा खुलेका संस्थाहरूले उनैको नाममा वार्षिक प्रकाशन गरेका छन्।

मिडिया कुनै पनि व्यक्तिको छवि निर्माणमा अग्रणी माध्यम हो भन्नलाई मदन भण्डारीको सन्दर्भमा उनको राजनीतिक योगदान, दृष्टिकोण र भूमिकाबारे नागरिकबीचमा जसरी स्थापित गर्ने प्रयास भएको छ, त्यसैलाई नियाले पुग्दछ।

प्रकाशित: २०८२ जेठ ३ गते शनिवार ०३:०३
प्रतिक्रिया

थप समाचार

सरकारले केरुङ–काठमाडौँ रेलमार्गलाई परिणाममुखी ढंगले अघि बढाउनुपर्छ

नेपालतर्फको रेलमार्गको लम्बाइ ७८.१ किलोमिटर हुने र प्रस्तावित मार्गको करिब ९६ प्रतिशत भाग सुरुङ तथा पुलमा पर्ने अनुमान गरिएको छ। नयाँ अध्ययनले यसको निर्माण लागत ४ खर्ब रुपैयाँभन्दा बढी हुने...

बीमा प्राधिकरणका अध्यक्षको जिम्मेवारीः कानूनमा आधारित स्वतन्त्र, सक्षम र विश्वसनीय नियामक

बीमितको हकहित संरक्षण, वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र नियामकीय निष्पक्षता त्यसका अनिवार्य आधार हुन्।

कानुनभन्दा माथि प्रधानमन्त्री पनि छैनन्: सुनकोशी–मरिण प्रकरणले उठाएका गम्भीर प्रश्न

कानुनी राज्यमा कार्यकारी शक्ति कानुनको अधीनमा रहन्छ। कानुन कार्यकारी इच्छाको अधीनमा होइन। यदि यो भ्रष्टाचारको नियतले गरे–गराइएको हो भने अख्तियार अवश्य नै सजग हुनुपर्छ।

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना