नेपालको चलचित्र उद्योगले आधा शताब्दीभन्दा बढीको यात्रा तय गरिसकेको छ। यो यात्रा एउटा सिकाइ, संघर्ष र सम्भावनाको मिश्रण हो। यो कालखण्डमा सयौँ फिल्महरू बने। हजारौं कलाकारहरू जन्मिए। सामान्य प्रविधिकदेखि विश्वस्तरीय सिनेजगतका सबैजसो काम गर्न सक्ने प्राविधिक पुस्ता तयार भएका छन्।
हुन त जुनसुकै पेसा/व्यवसायमा आउनेजाने प्रक्रिया चलिरहन्छ। त्यस्तै यहाँ पनि, केहीले निरन्तरता दिए। केहीले चलचित्रमा जीवन देखेनन्। कतिपय फिल्मकर्मी निराशा बोकेर पलायन भए।
आज पनि युवाहरूको एउटा पुस्ता चलचित्रमा भविष्य खोजिरहेको छ। रहर, सपना र कहिलेकाहीँ केवल नाम र चमकधमकका लागि मात्र पनि युवा यस उद्योगमा आउँछन्। तर प्रश्नहरु के हुन् भने; के नेपालको चलचित्र उद्योगमा भविष्य छ? के यहाँ योजना, संरचना र दिगोपनामा आधारित विकास भइरहेको छ? अथवा स्वार्थकेन्द्रित प्रयोग र संयोगमा भर पर्ने उद्योग बनेको छ?
हामी सधै अन्य विषय र तप्कामा छलफल गरिरहेकै छौँ/हुन्छौँ, यतातिर पनि कहिलेकाहीँ ध्यान दिन जरुरी छ। गम्भीर बहस जरुरी छ। बहसले सही मार्गमा लैजान मद्दत गर्छ।
पछिल्ला वर्षहरूमा केही नेपाली फिल्महरूले व्यावसायिक रूपमा ठूलो सफलता हात पारेका छन्। केही दिनअघि मात्रै चलचित्र विकास बोर्डद्वारा सार्वजनिक ‘नेपालका सर्वाधिक कमाइ गर्ने २५ फिल्मको सूची’ले यो तथ्य पुष्टि गर्छ कि- नेपाली फिल्महरूलाई दर्शकको साथ छ। बजार पनि छ। करोडौँमा निर्माण भएका हलिउड र बलिउड फिल्मलाई भन्दा नेपाली फिल्मलाई माया गर्ने दस्ता तयार भइरहेको कुरा नेपाली चलचित्रको व्यापारले पनि देखाएको छ। त्यस्तै, उद्योगको इतिहासलाई फर्किएर हेर्दा लगानीकर्ताको चासो पनि राम्रै दखिन्छ।
उदाहरणको लागि ‘पूर्णबहादुरको सारंगी’ले १७ लाखभन्दा बढी टिकट बिक्री गरी ४६ करोडभन्दा बढीको आम्दानी गर्यो। ७–८ करोड कमाउने चलचित्रहरूको संख्या पनि उल्लेख्य छ। एक-डेढ करोड हाराहारी खर्च गरेर ७-८ करोड कमाउनु भनेको ७/८ सय प्रतिशत हो। यति ठूलो नाफा कमाउने अरु उद्योग छ र? राम्रा कमाईं गरेका फिल्मको व्यावसायिक आँकडाहरूले एक सन्देश दिन्छन्- फिल्म उत्कृष्ट बने दर्शकहरूले त्यसलाई न्याय गर्छन् नै!
यति हुँदाहुँदै पनि समग्र चलचित्र उद्योग भने व्यवस्थित रूपमा अघि बढ्न सकेको छैन। किन? यसका कारण औँल्याउन गम्भीर आत्मसमीक्षा र विश्लेषण गर्न जरुरी छ।
नेपालमा अहिले पनि फिल्म कस्तो बनाउनेभन्दा ‘फिल्म सुरु गरिहालौं बाँकी भैहाल्छ’ भन्ने प्रवृत्ति हाबी छ। निर्माता रनभुल्लमा पर्छन्। ललिपपको लोभमा अन्यको कुरा सुनेर फिल्मको घोषणा गरिन्छ। फिल्म आउँदैछ भनेर घोषणा हुन्छ। पोस्टर छापिन्छ। कलाकार घोषणा गरिन्छ। हल्लाखल्ला गरिन्छ। त्यसपछिको यात्रा प्रायः जटिल र अनिश्चित बन्छ। धेरै फिल्महरू पोस्ट–प्रोडक्सनमा चिप्ल्छन्।
राम्रो फिल्म बनाउनु भनेको बजारमा ‘सस्तो रमाइलो’ बेच्नु होइन, दर्शकसँग आत्मीयता बनाउने कथा दिनु हो।
नेपालमा छायांकन भएर पनि रिलिज नभएका दर्जनौं फिल्म छन्, करोडौं रकम बालुवामा पानी खन्याएजस्तै भएको छ।
फिल्म निर्माणको सर्वाधिक महत्वपूर्ण चरण हो प्रि-प्रोडक्सन। यही चरणमा स्क्रिप्ट लेखिन्छ, निर्देशक र प्राविधिक टिम तय हुन्छ, लोकेसन र रिसर्च गरिन्छ, बजेट र समयरेखा निर्धारण गरिन्छ। तर यिनै कुरालाई हामी चलचित्र क्षेत्रका प्राय: सबैले अहिले पनि ‘हल्का रुपमा’ लिन्छौँ।
नेपालमा अधिकांश चलचित्रहरूको स्क्रिप्ट ‘राम्रो लाग्यो, बनाऔँ’ भन्ने शैलीमा तयार गरिन्छ। अनुसन्धान आधारित स्क्रिप्ट लेखन कम देखिन्छ। निर्देशकको छनोट सम्बन्ध, पहुँच र प्राथमिक छनोटमा आधारित हुने गरेको पाइन्छ। कलाकार चयनमा पनि त्यस्तै।
प्रि-प्रोडक्सन तयारी बिना चलचित्र सुरु गर्नु भनेको नक्सा नहेरी घर बनाउन लाग्नुजस्तै हो। राम्रो स्क्रिप्ट, निर्देशक र कास्टिङ विना सिनेमा निर्माण गर्नु भविष्यविहीन यात्रा हो। हो, यहाँनेर हामी चुकिरहेका छौँ।
नेपालमा धेरै निर्माता केवल लगानीकर्ता हुन्छन्। प्रत्यक्ष सहभागी भएको देखिन्न। फिल्म कुन जनराको हो? स्क्रिप्टमा के दम छ? दर्शक कुन वर्ग लक्षित हो? मार्केटिङ कसरी गर्ने? यी सबै प्रश्नप्रति उनीहरू बेखबर देखिन्छन्।
खासमा निर्माता भनेको केवल लगानीकर्ता होइन, त्यो नेतृत्वकर्ता हुनुपर्ने हो। निर्माताले सुरुदेखि अन्त्यसम्म निर्माण प्रक्रियामा प्रत्यक्ष संलग्न हुनुपर्छ। स्क्रिप्टमा सुधार गराउने, निर्देशकसँग छलफल गर्ने, कलाकारको छनोटमा तटस्थता अपनाउने, टेक्निकल पक्षमा व्यावसायिक सहयोग जुटाउने—यी सबै भूमिकामा निर्माता जिम्मेवार बन्नुपर्छ। तर, निर्मातालाई थाहै नदिएर खर्च मात्रै गराएर फिल्म बनाएपछि के हुन्छ?
नेपाली चलचित्रमा अर्को गम्भीर समस्या हो, पोस्ट–प्रोडक्सनको उपेक्षा। फिल्म सुटिङ सकिएपछि बजेट सकियो भन्ने बहाना बनाइन्छ। सम्पादन, साउन्ड डिजाइन, ब्याकग्राउन्ड म्युजिक, कलर ग्रेडिङ जस्ता महत्वपूर्ण पक्षमा आधा मनले काम गरिन्छ।
वास्तवमा पोस्ट–प्रोडक्सन भनेको फिल्मलाई जीवन दिने चरण हो। जसरी मान्छे जन्मिएपछि उसलाई लुगा लगाइन्छ, चिटिक्क पारिन्छ, त्यस्तै फिल्म पनि छायांकनपछि अझ प्रस्तुत योग्य बनाइन्छ। तर, हामीकहां पोस्ट–प्रोडक्सनलाई ‘झट्टै सकेर’ रिलिज गर्नुपर्छ भन्ने सोचले ग्रसित छ। फिल्मको पोस्टप्रोडक्सनमा कति समय लाग्छ भन्ने समेत ध्यान नदिएर रिलिज मिति तोकिन्छ, त्यसपछि पोस्टप्रोडक्सनमा प्राविधिकले राम्रोसँग काम गर्न पाउँदैनन्। फलतः फिल्म ‘प्लट त राम्रै थियो’ भनेर मात्र सान्त्वना पाउँछ, तर दर्शक हलमा तान्न सक्दैन।
त्रिभुवन विश्वविद्यालयका प्राडा उद्धव सिग्देलले हालै एक पोस्टकास्टमा स्पष्ट रूपमा भनेका छन्। ‘नेपालमा अधिकांश फिल्म रिसर्च विना तयार गरिन्छ।’ उनीहरूकै टिमले तयार पारेको डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउं’ले अनुसन्धानले कथालाई कसरी प्रासंगिक र प्रभावशाली बनाउन सक्छ भन्ने देखाउँछ।
राम्रो स्क्रिप्ट लेखन, निर्देशनमा अनुभव, कलाकारको उपयुक्त छनोट, बजेटको स्पष्ट खाका, पोस्ट-प्रोडक्सन र मार्केटिङको योजना- यी सबै अङ्गहरू समन्वय गर्न सके मात्र राम्रो फिल्म बन्न सक्छ। र, यसका पछाडि निर्माता स्वयं जिम्मेवार भएर काम गर्न सके फिल्मको क्वालिटी झन् बढ्न सक्ने थियो।
हामी अझै फिल्मलाई केवल ‘सिर्जनात्मक मनोरञ्जन’ का रूपमा लिन्छौँ। तर सिनेमा व्यवसाय हो- र त्यो पनि उच्च जोखिम भएको व्यवसाय। सामान्य रूपमा पनि कसैले पान पसल खोल्नुभन्दा पहिले के बेच्ने, कहाँ खोल्ने, को लक्षित गर्ने भनेर योजना बनाउँछ। तर चलचित्र बनाउँदा यस्तो व्यवसायिक दृष्टिकोण अपवादजस्तो मात्र देखिन्छ।
राम्रो फिल्म बनाउनु भनेको बजारमा ‘सस्तो रमाइलो’ बेच्नु होइन, दर्शकसँग आत्मीयता बनाउने कथा दिनु हो।
अर्को कुरा पनि छ, आजकल फिल्मको प्रमोसन भन्नासाथ केवल प्रिमियर शो र सेलिब्रिटी ग्ल्यामर देखिन्छ। तर वास्तविक प्रमोशन भनेको दर्शकमाझ विश्वसनीयता बनाउनु हो। फिल्मको सन्देश, भावनात्मक गहिराइ र समसामयिकता दर्शकसमक्ष पुर्याउने शैलीमा प्रचार गर्न सकिए मात्र सिनेमा सफल हुन सक्छ। फिल्म बनाउनु सिर्जनात्मक कर्म हो, तर त्यो व्यवस्थापन, समन्वय, अनुशासन र व्यावसायिक सोच बिना अधुरो हुन्छ।
यदि हामी नेपाली फिल्मलाई सफल बनाउने हो भने, स्क्रिप्ट लेखनदेखि मार्केटिङसम्म प्रत्येक चरणमा गम्भीर योजना, अनुसन्धान र समर्पण आवश्यक छ। फिल्मले अब केवल व्यक्तिको होइन, देशको अर्थतन्त्रमा योगदान दिनुपर्ने समय आएको छ।
जसरी साउथ इन्डियन फिल्महरूले बलिउडको छायाबाट निस्केर विश्वको ध्यान ताने, त्यसैगरी नेपाली फिल्म पनि अघि बढ्न सक्छ। तर, त्यसका लागि अब हामीले व्यावसायिक सोच, अनुशासन र जिम्मेवारीपूर्वक फिल्म निर्माण गर्नैपर्छ।
(ज्ञवाली डकुमेन्ट्री तथा सर्ट फिल्म निर्माता/निर्देशक हुन्।)



