नेपालमा फेरि एकपटक युवा पुस्ताले बलियोसँग राजनीतिक हस्तक्षेप गर्यो। इतिहास फर्केर हेर्दा, यस्तै आन्दोलन २०३६ सालमा पञ्चायती व्यवस्थाविरुद्ध भएको थियो। अहिले ‘जेन जी’ आन्दोलन भनेर चिनिएको यो आन्दोलन पनि मूलतः विद्यार्थीहरूकै आन्दोलन हो।
चार दशकअघि विद्यार्थीहरूको विद्रोहले जनमत सङ्ग्रहको घोषणा गरायो भने, डिजिटल युगमा जन्मिएका युवाहरूको आन्दोलनले प्रधानमन्त्रीलाई राजीनामा गर्न बाध्य पार्दै अन्तरिम सरकार गठनको बाटो खोल्यो। इतिहासले देखाएको छ—जब युवा सडकमा आउँछन्, सत्ता हल्लिन्छ। २०३६ सालको विद्यार्थी आन्दोलन नेपालकै पहिलो व्यापक र संगठित युवा विद्रोह थियो। विश्वविद्यालय र क्याम्पसहरू विरोधका केन्द्र बने। विद्यार्थीहरूले शैक्षिक स्वतन्त्रता, स्वतन्त्र विद्यार्थी सङ्घ गठन, र राजनीतिक स्वतन्त्रताको माग राखे। पर्चा, किताब, गोप्य बैठक र प्रत्यक्ष प्रदर्शन उनका प्रमुख माध्यम थिए। आन्दोलन बढ्दै जाँदा तत्कालीन पञ्चायती सरकारले प्रहरी र सेना परिचालन गर्यो। क्याम्पसहरूमा घुसपैठ, पर्चा–पत्र बरामद, हजारौँ विद्यार्थीको गिरफ्तारी र यातना भएको विवरण इतिहासमा अंकित छ। तर यस दमनले आन्दोलनलाई रोक्न सकेन। विद्यार्थी र युवाहरूको प्रतिरोध झन् बलियो बन्यो। लामो दबाब र सङ्गठित विद्रोहको परिणामस्वरूप राजा बिरेन्द्र जनमत सङ्ग्रह घोषणा गर्न बाध्य भए, जसले नेपालको राजनीतिक चेतनामा नयाँ अध्याय खोलेको थियो।
चार दशकपछि, जेनजी आन्दोलन डिजिटल युगको पहिलो ठूलो राजनीतिक विद्रोहको रूपमा उदायो। यसपटकको आन्दोलन केवल सामाजिक सञ्जाल बन्द भएपछि सुरु भएको होइन। दीर्घकालीन भ्रष्टाचार, बेरोजगारी, आर्थिक असमानता, सार्वजनिक सेवामा दुरुपयोग र सरकारप्रति व्यापक असन्तोषले आक्रोश सङ्कलित भएको थियो। सामाजिक सञ्जाल बन्द गर्ने कदमले त्यो आक्रोशलाई अझ प्रज्वलित गर्यो। जेनजी आन्दोलन काठमाडौंका गल्लीदेखि देशभरका शहरहरू र क्याम्पससम्म फैलियो। हजारौँ युवाले सडक तताए। टिकटक, फेसबुक, इन्स्टाग्राम र ट्वीटरजस्ता डिजिटल प्लेटफर्महरूले आन्दोलनलाई तीव्र गति दिए।
प्रदर्शन बढ्दै जाँदा केही स्थानमा हिंसा भड्कियो—सरकारी भवनमा तोडफोड, प्रहरीसँग झडप, गोली प्रहार, दर्जनौँको मृत्यु, सयौँ घाइते र अरबौँको आर्थिक नोक्सानीका घटना निस्किए। अन्ततः प्रधानमन्त्रीले राजीनामा दिए, अन्तरिम सरकार गठन भयो र नयाँ चुनावको मिति तय भयो। यी दुई आन्दोलनलाई तुलना गर्दा दुवैको नेतृत्वमा युवा थिए। दुवैलाई अन्याय र दमनले प्रज्वलित गर्यो। दुवैमा युवाहरूले ज्यानको जोखिम मोलेर सडक तताए। तर फरक यति छ कि २०३६ को आन्दोलन लामो, योजनाबद्ध र स्पष्ट मागसहित थियो। संगठनात्मक संरचना र नेतृत्व बलियो भएको कारण त्यसले प्रणालीगत बहस र जनमत सङ्ग्रहजस्तो संस्थागत प्रक्रिया जन्मायो।
जेन जी आन्दोलन भने छिटो–छरितो, डिजिटल र कमजोर नेतृत्वमा आधारित थियो। यसले आन्दोलनलाई द्रुत फैलावटमा मद्दत त गर्यो, तर दीर्घकालीन रणनीति र संरचनागत योजनामा कमजोरी देखियो। सरकार बदल्नु मात्र पर्याप्त छैन भन्ने चेतावनी यी आन्दोलनहरूले दिइरहेका छन्। स्थायी सुधार र दीर्घकालीक प्रभावका लागि युवा पुस्ताले संगठनात्मक ढाँचा बलियो बनाउनुपर्छ। स्पष्ट नीति–माग तयार गर्नुपर्छ। कानुनी प्रक्रिया, नीतिगत समितिहरू र निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता आवश्यक छ। सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि दीर्घकालीन उपाय नलिइयो भने आन्दोलन क्षणिक लहर बन्ने खतरा रहन्छ।
डिजिटल आक्रोशलाई संस्थागत दबाबमा रूपान्तरण गर्न सकिएन भने अहिलेको विद्रोह पनि इतिहासको एउटा क्षणिक घटना बन्न सक्छ। जेनजी आन्दोलनले युवाको शक्ति र चेतनालाई मात्र देखाएको छैन, तर नेपालमा दीर्घकालीन परिवर्तनका लागि नयाँ ढाँचा खोज्नु अपरिहार्य छ भन्ने सन्देश पनि दिएको छ। यदि सरकारले फेरि युवा आवाज बेवास्ता गर्यो भने भविष्यमा अझ गहिरो र तीव्र आन्दोलनहरू उठ्नेछन्। युवाहरूले आन्दोलनलाई केवल आक्रोशको विस्फोट होइन, दीर्घकालीन नीति र संरचनागत सुधारको दबाबमा परिणत गर्नुपर्छ। डिजिटल युगमा आन्दोलनको प्रभाव तीव्र हुन्छ, तर त्यसलाई स्थायित्व दिने संरचना र कानुनी प्रक्रिया आवश्यक छन्। यही कारण, जेनजी आन्दोलनको वास्तविक सफलता केवल तत्कालीन सरकार परिवर्तनमा होइन, दीर्घकालीन सुधार र लोकतान्त्रिक संस्थाहरूको सबलतामा निर्भर रहन्छ।
नेपालको इतिहासले बारम्बार देखाएको छ कि युवा पुस्ता उदाउँदा सत्ताको आधार हल्लिन्छ। तर हरेक विद्रोहलाई स्थायी परिवर्तनमा रूपान्तरण गर्न संगठन, योजना र निरन्तरता चाहिन्छ। युवाले आवाज उठाउँछन्, परिवर्तनको ढोका खोल्छन्, तर त्यो ढोकाबाट दीर्घकालीन सुधार भित्र्याउने जिम्मेवारी पनि उनीहरूकै काँधमा पर्छ। त्यो जिम्मेवारी वहन गर्नको लागि युवा शक्तिको एउटा दल आवश्यक छ।


