काठमाडौं। कर्मचारी सञ्चय कोषले पद्मा हस्पिटालिटी प्रालिलाई ऋण चुक्ता वा नियमित गर्न अन्तिम पटक सात दिनको म्याद दिएको छ। सात दिनभित्र लिएको ऋण चुक्ता तथा नियमित नगरे सञ्चय कोषले जग्गा बेचेर असूली गर्ने जानकारी दिएको छ।
सञ्चय कोषले उक्त जग्गाको मूल्य ५६ करोड तीन लाख ७२ हजार १८७ रुपैयाँमा सकार गर्ने जानकारी दिएको छ। सञ्चय कोषले पद्मा हस्पिटालिटीलाई चौथो पटक समय दिएको हो।
धितो रहेको चल अचल सम्पत्ति लिलाम बिक्री गर्न सार्वजनिक सूचना प्रकाशित गरी सिलबन्दी बोलपत्र आह्वान गर्दासमेत कर्जा चुक्ता वा नियमित नभएकोले अन्तिम पटक सात दिन समय दिएको कोषले स्पष्ट पारेको छ।
‘सात दिनभित्र कर्जाको सम्पूर्ण साँवा ब्याज भुक्तानी गरी आफ्नो जग्गा र घर जग्गा फुकुवा गराउन सम्बन्धित ऋणी र धितो जमानी दिने व्यक्तिसमेतलाई अन्तिम पटक यो सूचनाद्वारा जानकारी गराइन्छ’ कोषले भनेको छ।
तोकिएको मितिभित्र पनि कर्जा चुक्ता वा नियमित नगर्ने ऋणीको धितो रहेको वा रोक्का राखेको चलअचल सम्पत्ति सञ्चय कोष आफैले सकार गरी लिने जानकारी दिएको छ।
काठमाडौं जिल्लाको साविकको इचंगुनारायण ६ ठूलो भर्याङ हालको नागार्जुन नगरपालिका वडा २ ठूलो भयाङस्थित कित्ता नम्बर ८९, १४७, १६२ १८९, १९८, ३८१, ३८२, ३८४, ३८५, ३८७, ४१५ गरी कूल पाँच रोपनी आठ आना जग्गा र लिगलगापातसमेत सकार्ने कोषले जनाएको छ।
व्यवसायी राजुप्रसाद कंडेलले पद्मा हस्पिटालिटी सञ्चालनका लागि सञ्चय कोषबाट ऋण लिएका थिए। सञ्चय कोषले ऋणी कंडेलले कारोबार सञ्चालन गर्न लिएको ऋणको भाखा नाघेको, सोको साँबा ब्याज नबुझाएको जनाएको छ।
कंडेलको पद्मा हस्पिटालिटीको नाममा काठमाडौंको नागार्जुन नगरपालिका २ ठुलो भर्याङमा रहेको जग्गा धितोमा राखेर ऋण लिएका थिए।
उक्त जग्गामा कंडेलले पद्म हस्पिटालिटीमार्फत दुई अर्ब ३० करोड रुपैयाँमा २०० कोठा भएको पाँचतारे ट्रान्क्विलिटी रोयल होटल सञ्चालनमा ल्याउने योजना बनाएका थिए।
होटल बनाउन एक अर्ब ८४ करोड ८० लाख रुपैयाँ बैंकको ऋण र बाँकी ४४ करोड ५० लाख रुपैयाँ स्वपुँजीबाट जुटाउने उनको योजना थियो। जसमा ८० प्रतिशत बैंकको ऋण र २० प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको थियो।
पद्मा हस्पिटालिटको जग्गा बिक्री नभएपछि सञ्चय कोषले निकाल्यो तेस्रो पटक लिलामी
होटल आगामी वर्ष २०२६ को जनवरीमा सञ्चालनमा ल्याउने योजना त्यसबेला कँडेलले सार्वजनिक गरेका थिए। अहिले होटल बन्नुका साटो सञ्चय कोषले जग्गा लिलाम गरेर ऋण सकार्न लागेको छ।
कँडेल ऋण तिर्न नसकेपछि सांग्रिला डेभलपमेन्ट बैंक पनि सम्पत्ति लिलामीको प्रक्रिया अघि बढाएको थियो।
कंडेलले ऋण नतिरेपछि सांग्रिला डेभलपमेन्ट बैंकले गत असार ३१ गते सूचना प्रकाशित गरी जग्गा लिलामी प्रक्रिया अघि बढाएको हो।
सांग्रिलाबाट पद्मा कोलोनी हाउजिङ परियोजना बनाउन लिएको कर्जाको साँवा, ब्याज तथा हर्जाना रकम सर्तबमोजिम नतिरेकाले ३५ दिनको समय दिएको बैंकले जनाएको थियो।


