काठमाडौँ: पछिल्ला वर्ष स्वास्थ्य क्षेत्र व्यावसायिकरण बन्दै गएको छ। मुलुकका प्रमुख शहरहरूमा अर्बौँ लगानीमा ठूला मल्टिस्पेसियालिटी (बहुविशेषता) अस्पताल खुल्ने क्रम बढेको छ। राम्रो सम्भावना भएपछि व्यवसायिक घरानाहरूले अस्पतालमा लगानी बढाइरहेका छन्। अस्पतालमा बैंक तथा वित्तीय क्षेत्रको ठूलो ऋण रहेको छ।
यसैगरी कोशी प्रदेश राजधानी विराटनगर महानगरपालिकामा मल्टिस्पेसियालिटी अस्पताल सञ्चालनमा आउने भएको छ। व्यवसायी राजेन्द्र राउत र सीमा राउतले १२१ शैय्या भएको आरआर इन्टरनेसनल अस्पताल निर्माण गरिरहेका छन्।
अस्पतालको हालसम्म ४० प्रतिशत भौतिक प्रगति भएको छ। यस्तै ३१ प्रतिशत वित्तीय प्रगति भएको छ। आगामी असारसम्म अस्पताल सञ्चालनमा ल्याउने तयारी कम्पनीको छ। निर्माणाधीन अस्पताल ६ तल्लाको हुनेछ।
अस्पताल बनाउन दुई अर्ब ४४ करोड ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रति बेड लागत २० लाख रुपैयाँ छ। ७५ प्रतिशत बैंकको ऋण र बाँकी २५ प्रतिशत संस्थापकको स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ। संस्थापकले ६१ करोड रुपैयाँ इक्विटी लगानी गर्ने भएका छन्। आरआरले एक अर्ब ८७ करोड ५० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ।
अस्पतालले मुटुरोग (कार्डियोलोजी) मा प्रमुख विशेषज्ञता रहने भएको छ। अस्पतालमा मुटुरोगका अतिरिक्त आर्थोपेडिक्स, स्त्रीरोग, शल्यक्रिया र अन्य सम्बद्ध चिकित्सा विशेष विभागसहित ओपीडी र आईपीडी सेवाहरू रहने भएको छ। ‘अस्पतालले मुटुरोगको उपचारलाई प्राथमिकतामा राखी २४ सैँ घण्टा इमर्जेन्सी सेवा, कार्डियक इमर्जेन्सी सेवा र क्याथ ल्याब जस्ता सेवा सुविधा उपलब्ध गराउने,’ उनले बताए।
साथै अस्पतालबाट जनरल मेडिसिन, न्युरो सर्जरी, जनरल सर्जरी, मृगौला रोग, मुत्ररोग, स्त्रीरोग तथा प्रसूति सेवा, आँखारोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नशाको विशिष्टिकृत उपचार सेवा उपलब्ध हुनेछ। आधुनिक र विश्वसनीय प्रविधि तथा उपकरणको माध्यमबाट सबै किसिमका शल्यक्रिया हुने गरी पूर्वाधार सुनिश्चित गरिने बताइएको छ।
अस्पताल विराटनगरको केन्द्र भागमा रहेकाले रणनीतिक स्थानबाट लाभ पाउने सम्भावना छ। अस्पताल विमानस्थलबाट लगभग ३ किलोमिटर दूरीमा छ।
अस्पतालमा ठूलो लगानी हुने भएकाले नाफा कमाउन लामो समय पर्खनुपर्ने हुन्छ। प्रवद्र्धकहरूले हालसम्म ७० प्रतिशत अर्थात् ४३ प्रतिशत लगानी गरिसकेका छन्। स्वपुँजी ६१ करोड १९ लाख रुपैयाँ छ।
नेपालको स्वास्थ्य सेवा उद्योगमा तीव्र प्रतिस्पर्धा रहेको छ। जहाँ धेरै सरकारी र निजी बहुविशेष अस्पतालहरू सञ्चालनमा छन्। लगानीको चासो बढेको र देशको स्वास्थ्य क्षेत्र विस्तारमा सरकारको ध्यान केन्द्रित भएको कारणले गर्दा नयाँ स्वास्थ्य सेवा सुविधासहित नयाँ अस्पताल निर्माण हुने क्रम बढेको छ।
हालसम्म राजेन्द्र राउत ५१ र सीमा राउतको ४९ प्रतिशत स्वामित्व रहेको छ। अस्पताल सन् २०२२ मा स्थापना भएको हो। अस्पतालमा लगानी गरेका अध्यक्ष राउत गार्मेन्ट व्यवसायी हुन्।
उनले चुना ढुंगा खानी सञ्चालन गरी सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ उपलब्ध गराउँदै आएका छन्। जुत्ता चप्पल उत्पादन, सिमेन्ट उद्योग, पेट्रोलियम पदार्थमा उनको लगानी रहेको छ।


