काठमाडौँ: अस्पतालहरूमा बिरामीको चाप थेगिनसक्नु भएपछि नेपालको स्वास्थ्य क्षेत्र अहिले ठूला लगानीकर्ता र बैंकहरूको मुख्य रोजाइमा पर्न थालेको छ। राम्रो प्रतिफल दिने व्यवसायिक क्षेत्र पनि स्वास्थ्य क्षेत्र बन्दै गएकाले मुलुकभर अर्बौंका ‘’मल्टिस्पेसियालिटी’’ अस्पतालहरू खुल्ने लहर चलेको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले स्वास्थ्य क्षेत्रमा बैंकहरूको आकर्षण ह्वात्तै बढेको देखाएको छ। चालू आर्थिक वर्ष २०८२/०८३ को मंसिर मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले स्वास्थ्य सेवामा कूल ७५ अर्ब ४८ करोड रुपैयाँ लगानी गरेका छन्। यो गत वर्षको सोही अवधिको तुलनामा १२.२१ प्रतिशतले बढी हो।
मुलुकभर एक दर्जन बढी अर्बौं रुपैयाँ लगानीमा अस्पतालको पूर्वाधार तयार भैरहेको छ। केही सञ्चालनको अन्तिम तयारीमा पुगेका छन् भने केही निर्माणकै चरणमा छन्। नयाँ अस्पताल खुलेसँगै उपचारका लागि नयाँ नयाँ उपकरण भित्रिनुका साथै ठूलो संख्यामा रोजगारी सिर्जना पनि गरेको छ।
नयाँ अस्पताल खुल्दै गएपछि अधिकांश रोगहरूको स्वदेशमै उपचार हुने वातारण बन्दै गएको छ। मुख्यगरी राजधानीलगायत मुलुकका प्रमुख शहरहरूमा अर्बौं रुपैयाँ लगानीका अस्पतालहरू खुल्ने क्रमम बढिरहेको देखिन्छ। हाल मुलुभर झण्डै दुई दर्जन बढी निजी लगानीमा ‘मल्टिस्पेसियालिटी’ अस्पतालहरू निर्माण भैरहेका छन्। सञ्चालनमा रहेका अस्पतालहरूले पनि सेवा विस्तारमा लगानी थपिरहेका छन्। स्वदेशमा अस्पताल बनिरहँदा उपचारका नाममा वर्षेनी विदेशिँदै आएको ठूलो रकम रोकिने विश्वास गरिएको छ।
पछिल्लो एक वर्षको अवधिमा अस्पताल, क्लिनिक तथा अन्य स्वास्थ्य सेवामा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी १२.२१ प्रतिशत वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्ममा स्वास्थ्य क्षेत्रमा ऋण प्रवाह र लगानीप्रति बैंकहरूको आकर्षण बढेको देखिन्छ। बैंक तथा वित्तीय संस्थाहरूले स्वास्थ्य सेवा क्षेत्रमा कूल ७५ अर्ब ४८ करोड रुपैयाँ लगानी गरेका छन्। गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यस्तो लगानी ६७ अर्ब २७ करोड रुपैयाँ रहेको थियो।
दुई अर्ब खर्चेर क्षमता विस्तार गर्दै मध्यपुर हस्पिटल, तीन सय बेड बनाउने तयारी
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले स्वास्थ्य सेवा क्षेत्रमा कुल ७१ अर्ब ८० करोड रुपैयाँ लगानी गरेका थिए। चालु आर्थिक वर्षको पहिलो पाँच महिनामै थप ३ अर्ब ६८ करोड रुपैयाँ लगानी भएर ७५ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। जुन गत आर्थिक वर्षको भन्दा ५.१ प्रतिशत बढी हो।
निजी क्षेत्रबाट सञ्चालित ह्याम्स अस्पतालले पनि भक्तपुरको थिमीमा दुई अर्ब रुपैयाँ लगानीमा दोस्रो अस्पताल बनाउँदै छ। चितवन मेडिकल कलेजले साढे ८ अर्ब रुपैयाँ लगानीमा राजधानीको तिनकुनेमा सुविधा सम्पन्न काठमाडौँ इन्टरनेसनल अस्पतालको निर्माण गरिरहेको छ। हालसम्म अस्पतालको ८३ प्रतिशत भौतिक र ७० प्रतिशत वित्तीय प्रगति भएको छ।
साढे दुई अर्ब लगानीमा घोराहीमा सञ्जिवनी हस्पिटल बन्दै, एक वर्षमा सञ्चालनमा ल्याउने तयारी
अस्पताल यही वर्षको जुलाइसम्म सञ्चालनमा ल्याउने तयारी भएको छ। निर्माणाधीन १२ तलाको अस्पताल तीन सय बेडको हुने छ।
१६ वर्षदेखि भक्तपुरको मध्यपुर ठिमीमा सञ्चालन भइरहेको मध्यपुर अस्पताल लिमिटेडले दुई अर्ब रुपैयाँ लगानी थपेर क्षमता विस्तार गर्न लागेको छ। क्षमता विस्तारपछि अस्पतालको बेड संख्य तीन सय पुग्ने भएको छ। अहिले मध्यपुरले एक सय बेडको अस्पताल सञ्चालन गरिरहेको छ। अब दुई सय बेड थप्ने अस्पतालको योजना छ।
तीन ठूला मेडिकल कलेजका सञ्चालकहरूको लगानीमा दाङको घोराहीमा ५ सय बेडको सञ्जिवनी इन्टिच्युट अफ एडभान्स स्टडिज एन्ड टिचिङ अस्पतालको पूर्वाधार निर्माण सुरु भएको हो।
प्रिमियमा नपाएपछि सयमै आईपीओ ल्याउँदै ह्याम्स, दुई अर्बमा दोस्रो अस्पताल बनाउँदै
युनिभर्सल इन्टिच्युट अफ एडभान्स स्टडिज एन्ड रिसर्च, गण्डकी मेडिकल कलेज टिचिङ अस्पताल र नेपालगञ्ज मेडिकल कलेजको दुई अर्ब ४२ करोड २० लाख रुपैयाँ लगानीमा सञ्जिविनी इन्टिच्युट अफ एडभान्स स्टडिज खुल्न लागेको हो। पहिलो चरणमा अस्पतालमा १०० बेड सञ्चालनमा ल्याउने तयारी गरिएको छ। बाँकी ३०० बेड यो वर्ष २०२६ मा सम्पन्न गर्ने लक्ष्य सञ्जिविनीको छ।
चितवनको भरतपुरमा भक्तमान श्रेष्ठले ४ अर्ब रुपैयाँ लगानीमा सुविधासम्पन्न न्यूटन अस्पताल सञ्चालनमा आउने भएका छन्। अहिले अस्पताल पूर्वाधार निर्माण जारी छ । ‘सुपर स्पेस्यालिटी’ न्युटन अस्पतालमा ३५० बेड हुनेछ । अस्पताल ८ तलाको हुने भएको छ ।


