काठमाडौँ- नागरिक उड्डयन प्राधिकरणले काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) साहसहित तीन जनालाई स्पष्टीकरण सोधेको छ। प्राधिकरणलाई पूर्वसूचना नदिई सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको फेन्सिङ तार काटेको विषयमा प्राधिकरणले मेयर साहसहितलाई स्पष्टीकरण सोधेको हो।
मेयर साहसँगै महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीलाई लिखित स्पष्टीकरण बुझाउन प्राधिकरणले ७ दिनको समय दिएको हो।
‘तारवार फेन्सिङ काटी लैजाने कार्यमा तपाई (मेयर)को समेत प्रत्यक्ष संलग्नता देखिएको हुँदा तपाईंलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१) बमोजिम सजाय किन नगर्ने हो? यो पत्र प्राप्त भएको मितिले ७ दिन भित्र लिखित स्पष्टीकरण पेश गर्नुहुन प्राधिकरणको मिति २०८० जेठ ३२ को निर्णयानुसार जानकारी गराइन्छ,’ प्राधिरणले सोधेको पत्रमा उल्लेख छ, ‘म्याद भित्र लिखित स्पष्टीकरण पेस नगरेमा कानुन बमोजिम भै जाने व्यहोरासमेत यसै पत्रबाट सूचित गरिन्छ।’
नगर प्रहरी उपरीक्षक राजु पाण्डे समेतले प्राधिकरणलाई कुनै जानकारी सूचना नदिई फेन्सिङ तारवार काटेको प्राधिकरणको पत्रमा उल्लेख छ। प्राधिकरणका अनुसार कर्मचारीहरूले पाण्डेलगायतको टोलीलाई तारबार नकाट्न अनुरोध गर्दा पनि अटेर गरी कानुन विपरीतको काम गरेको प्राधिकरणको आरोप छ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार महानगरको ९ नम्बर वडामा पर्ने प्राधिकरणको विमानस्थल क्षेत्रसँग सम्बन्धित क्षेत्रमा बिहीबार महानगरले नगरप्रहरीसहितको टोली पठाई फेन्सिङ तार काटिदिएको छ।
प्राधिकरण ऐनको दफा ७ (घ) मा भइरहेको भवन, घर, टहरा, लठ्ठा, रुख आदि पूरै वा केही भत्काउन, उखेल्न वा काट्न निषेध गरिएको छ। ऐनको ७ बमोजिम प्राधिकरणले निषेध गरेका काम गरे ५० हजारसम्म जरिमाना हुने व्यवस्था गरिएको छ। यो विषयमा बालेनसहितले चित्तबुझ्दो जवाफ नदिए मेयर बालेनसहितलाई कारबाही प्रक्रिया अघि बढाइने प्राधिकरणले जानकारी दिएको छ। जरिमाना नतिरेमा थप काबाही गरी उडानमा प्रतिबन्ध लगाउन सकिने प्राधिकरणको भनाइ छ।



