काठमाडौँ- भन्सारबाट उठ्ने राजस्वमा सरकारलाई ठूलो धक्का लागेको छ। चालु आर्थिक वर्षको ११ महिना व्यतित हुँदा लक्ष्यको करिब ५८.५७ प्रतिशत मात्रै भन्सार राजस्व असुली भएपछि सरकारलाई धक्का लागेको हो।
चालु आव (गत वर्ष साउनदेखि यस वर्षको असारसम्म)मा ६ खर्ब ९ अर्ब रुपैयाँ भन्सार राजस्व संकलन गर्ने लक्ष्य सरकारको थियो। तर जेठसम्ममा ३ खर्ब ५६ अर्ब ७५ करोड रुपैयाँ मात्रै भन्सार राजस्व संकलन भएको भन्सार विभागले जानकारी दिएको छ।
विभागले बाह्यतर्फको मूल्य अभिवृद्धि करबाट २ खर्ब ३४ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा १ खर्ब ५८ अर्ब ३० करोड अर्थात लक्ष्यको ६७.६५ प्रतिशत मात्रै संकलन भएको छ। यस्तै बाह्यतर्फको अन्त:शुल्कबाट ७२ खर्ब ५२ करोड संकलन गर्ने लक्ष्य राखिएमा २९ अर्ब ७० करोड रुपैयाँ मात्रै असुली भएको छ। जुन लक्ष्यको ४०.९५ प्रतिशत मात्रै हो।
यस्तै भन्सार शुल्कबाट यस अवधिमा २ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा १ खर्ब ५७ अर्ब ८६ करोड रुपैयाँ मात्रै असुली भएको छ। जुन लक्ष्यको ५६.३० प्रतिशत मात्रै हो।
विदेशी मुद्राको सञ्चितिमा दबाबका कारण नेपाल सरकार तथा राष्ट्र बैंकले आयातमा लगाएको प्रतिबन्ध एवं प्रतीतपत्र (एलसी)मा गरिएको कडाईका कारण भन्सार राजस्वमा कमी आएको विभागले जनाएको छ। यसैगरी कतिपय मालवस्तु भन्सारमा अड्किएर भन्सार म”ल्यांकन हुन नपाएकाले पनि राजस्व असुलीमा असर परेको हो।
सरकारले आयात प्रतिबन्धमा हटाएपनि कर्जाको ब्याजदर महँगो भएको भन्दै आयातकर्ताले वस्तु आयात घटाउँदा त्यसको असर पनि भन्सार राजस्वमा देखिएको छ। असार महिना चालु आर्थिक वर्षको अन्तिम महिना रहेको तथा गत वर्षको जस्तो आयात बढ्ने संभावना नरहेकाले भन्सार राजस्व लक्ष्य अनुरुप संकलन नभएको विभागको बुझाइ छ।
पूर्वअर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको अवस्था विचार नगरी भन्सार विभागलाई राजस्व उठाउने ठूलो लक्ष्य निर्धारण गरिदिएका थिए। यसैगरी भन्सार नाकाहरुमा हुने न्यून बिजकीकरण, चोरीपैठारीलगायतका समस्याले भन्सार राजस्व प्रभावित भएको विभागको भनाइ छ।
