काठमाडौँ- मुलुकको हवाई सुरक्षा प्रणाली प्रभावकारी बनाउन नेपालको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र फ्रान्सको नागरिक उड्डयन प्राधिकरणबीच समझदारी भएको छ। फ्रान्सको राजधानी पेरिसमा दुई मुलुकका हवाई उड्डयनका नियामक निकायबीच यसका लागि समझदारीमा हस्ताक्षर भएको हो।
समझदारीपत्रमा नेपालका तर्फबाट क्यानका महानिर्देशक प्रदीप अधिकारी र फ्रान्सेली प्राधिकरणका तर्फबाट डेमिन केजले हस्ताक्षर गरेका छन्। यो चार वर्षे समझदारीमा हो। समझदारीअनुसार प्राविधिक क्षमता अभिवृद्धि र तालिमलगायत हवाई सुरक्षा गुणस्तर अभिवृद्धिबारे कार्यक्रम सञ्चालन गरिनेछ।
यसले नेपालको हवाई सुरक्षा अभिवृद्धि हुने क्यानको विश्वास छ। नेपालको हवाई क्षेत्रमा उड्डयन सुरक्षा प्रणाली सुधारका साथै प्राविधिक दक्ष जनशक्ति विकासमा सहयोग पुग्ने सम्झौतामा उल्लेख छ।


