काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले मुलुकको प्रशासनिक सेवालाई चुस्त र व्यवस्थित बनाउन मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई सुझाएको छ। नवनियुक्त मुख्यसचिव अर्याललाई बधाइ एवं शुभकामना दिँदै चेम्बरले समयबद्ध तालिका बनाएर सरकारी सेवा प्रवाहलाई चुस्त एवं प्रभावकारी बनाउन सुझाव दिएको हो।
अन्तरसरकारी निकायबीच प्रभावकारी समन्वयमार्फत जनतासँग प्रत्यक्ष जोडिएका सेवाक्षेत्रलाई परिणाममुखी बनाउन सुझाव दिइएको चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए। उनले भने, ‘समयबद्ध तालिका बनाएर सरकारी सेवा दिन सकियो भने जनतालाई निकै राहत हुन्छ। कर तिर्न जाँदासमेत घन्टौं लाइन बस्नुपर्ने बाध्यता तत्काल अत्न्य गर्ने ठोस नीतिगत व्यवस्थाको आवश्यक्ता छ।’
यस्तै, प्रतिनिधिसभामा विचाराधीन अधिकांश आर्थिक विधेयकलाई अगाडि बढाउन सहजीकरण गरिदिन चेम्बरले मुख्यसचिव डा. अर्यालको ध्यानाकर्षण गराएको छ। चेम्बरले दिएको सुझावमा भनिएको छ, ‘निजी क्षेत्रसँग सम्वन्धित आर्थिक तथा अन्य विधेयक समयमै पारित हुन नसकेकाले कतिपय समस्या सम्बोधन हुन सकेका छैनन्। यसका लागि यसका लागि पनि सहजीकरण गरिदिनुहुन अनुरोध गर्दछौं।’
चेम्बरले मुलुकको आर्थिक विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय लगानी भित्र्याउनुपर्नेमा समेत जोड दिएको छ। खासगरी ठूला जलविद्युत् आयोजना, पूर्वाधार विकास, औद्योगिक तथा पर्यटन प्रवद्र्धनका लागि विदेशी लगानी सम्मेलन यथाशीघ्र आयोजना गर्नसमेत चेम्बरले मुख्यसचिव डा. अर्यालको ध्यानाकर्षण गराएको छ। वैदेशिक लगानी सम्मेलनका क्रममा सूचना प्रविधिको क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर योजना तर्जुमा गर्न समेत आग्रह गरिएको चेम्बर अध्यक्ष मल्लले बताए।
चेम्बर पदाधिकारीसँगको भेटपछि मुख्यसचिव अर्यालले जनताको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको जानकारी दिए। गुणस्तरीय सेवा प्रवाह दिने विषयमा सरकार संवेदनशील रहेकाले दीर्घकालीन नीतिगत योजना बन्ने काम भइरहेको उनले बताए।
मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने भन्दै मुख्यसचिव डा. अर्यालले अन्तर्राष्ट्रिय लगानीका लागि पनि पहल भइरहेको जानकारी दिए। भन्सार प्रशासनलाई चुस्त बनाएर राजस्व संकलन लक्ष्य वृद्धि एवं पुँजीगत खर्च समयमै गर्ने गरी नीतिगत व्यवस्थाको तयारी भइरहेको उनले धारणा व्यक्त गरे।


