काठमाडौं। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकलाई पुनः सञ्चालनमा ल्याउन नयाँ संस्थापक सेयरधनी भित्र्याएर पुँजी वृद्धि गर्ने तयारी अघि बढाएको छ। राष्ट्र बैंकको प्राथमिकता निक्षेपकर्तालाई सुरुमै सेयर दिने नभई नयाँ लगानीकर्ता ल्याएर संस्था पुनर्जीवित गर्ने रहेको छ।
राष्ट्र बैंकले गठन गरेको व्यवस्थापन समितिका संयोजक टीकाराम खतिवडाले अहिले विभिन्न विकल्पमाथि छलफल भइरहेको र नयाँ संस्थापक सेयरधनी भित्र्याउने विषयलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए। उनका अनुसार निक्षेपकर्तालाई सेयर दिने विकल्पलाई अन्तिम उपायका रूपमा मात्रै हेरिएको छ।
‘हाम्रो पहिलो प्राथमिकता नयाँ संस्थापक सेयरधनी ल्याएर आवश्यक पुँजी जुटाउने हो। निक्षेपकर्तालाई सुरुमै सेयर दिने योजना छैन। यदि अन्य सबै विकल्प सफल भएनन् भने मात्र अन्तिम विकल्पका रूपमा निक्षेपलाई सेयरमा रूपान्तरण गर्ने विषयमा सोचिनेछ,’ खतिवडाले नेपाल क्लिक्ससँग भने।
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंक पुनर्संरचना निर्णायक मोडमा, सर्वसाधारणका लागि खुल्दैछ नयाँ अवसर
उनका अनुसार नयाँ संस्थापक कसरी भित्र्याउने, कति पुँजी संकलन गर्ने र बैंकको स्वामित्व संरचना कसरी पुनर्गठन गर्ने भन्ने विषयमा राष्ट्र बैंकभित्र छलफल जारी छ। यसबारे केही दिनभित्र थप स्पष्ट निर्णय हुने अपेक्षा गरिएको उनले बताए।
राष्ट्र बैंकको प्रारम्भिक योजनाअनुसार नयाँ संस्थापक सेयरधनीबाट करिब ४ अर्ब रुपैयाँ बराबरको पुँजी जुटाउने लक्ष्य राखिएको छ। त्यसका लागि बैंकको अधिकृत, जारी तथा चुक्ता पुँजीको संरचना परिवर्तन गर्नुपर्ने अवस्था रहेको व्यवस्थापन समितिको भनाइ छ।
खतिवडाका अनुसार धितोपत्रसम्बन्धी कानुनी व्यवस्थाका कारण निक्षेपकर्तालाई प्रत्यक्ष रूपमा सेयर वितरण गर्ने प्रक्रिया सहज छैन। त्यसैले नेपाल धितोपत्र बोर्डसहित सम्बन्धित निकायसँग छलफल भइरहे पनि तत्कालका लागि नयाँ संस्थापक ल्याउने विकल्पलाई बढी व्यवहारिक मानिएको छ।
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको पुनर्संरचना सुरु, नयाँ लगानीकर्ता भित्रिने सम्भावना बलियो
‘निक्षेपकर्तालाई सेयर दिने विषयमा पनि छलफल भइरहेको छ। तर कानुनी र प्रक्रियागत पक्ष मिलाउनुपर्ने भएकाले अहिले नयाँ संस्थापक ल्याउने मोडालिटीलाई प्राथमिकता दिएका छौं,’ उनले भने।
राष्ट्र बैंकका अनुसार नयाँ संस्थापक भित्र्याइएपछि बैंकको करिब ७० प्रतिशतसम्म संस्थापक सेयर उनीहरूलाई उपलब्ध गराउने गरी मोडालिटी तयार हुन सक्छ। त्यसपछि आवश्यकताअनुसार संस्थापक सेयर क्रमशः सर्वसाधारणमा रूपान्तरण गर्न सकिने व्यवस्था पनि कानुनमा रहेको खतिवडाले बताए। यद्यपि, यससम्बन्धी अन्तिम निर्णय भने राष्ट्र बैंक सञ्चालक समितिबाट हुन बाँकी छ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुसार संस्थापक सेयर बिक्री गर्दा अंकित मूल्यभन्दा बढी वा कम मूल्य लिन नपाइने व्यवस्था छ। त्यसैले नयाँ संस्थापकलाई बिक्री गरिने सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा नै उपलब्ध गराइनेछ।
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको पुनर्संरचना, सेयर पुँजी घटाएर एक प्रतिशत कायम
राष्ट्र बैंकको अध्ययनले कर्णाली डेभलपमेन्टको वित्तीय अवस्था अत्यन्त कमजोर रहेको देखाएको छ। हाल बैंकको चुक्ता पुँजी २९ करोड रुपैयाँमा झरेको छ। यसअघि ५० करोड रुपैयाँ रहेको चुक्ता पुँजी वित्तीय अपचलनमा संलग्न व्यक्तिहरूको सेयर मूल्य समायोजन गरेपछि घटेको हो।
बैंकमा हाल करिब ४ अर्ब ३० करोड रुपैयाँ निक्षेप रहेको छ भने कर्जा तथा अन्य सम्पत्तिको मूल्य करिब ३ अर्ब ६५ करोड रुपैयाँ मात्रै रहेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ। यसको अर्थ बैंकको सम्पत्तिले सम्पूर्ण निक्षेपकर्ताको दायित्व धान्न सक्ने अवस्था छैन। अहिले नै बैंकको सम्पत्ति बिक्री गरेर हिसाब मिलाउने हो भने करिब २५ प्रतिशत निक्षेपकर्ताले आफ्नो रकम फिर्ता नपाउने अवस्था सिर्जना हुने देखिएको छ।
यही कारण राष्ट्र बैंकले बैंकलाई विघटन गर्नुको सट्टा पुनः सञ्चालनमा ल्याएर दीर्घकालीन रूपमा निक्षेपकर्ताको रकम फिर्ता गराउने विकल्पलाई अघि सारेको हो।
राष्ट्र बैंकको व्यवस्थापन टोलीले गरेको सम्पत्ति तथा दायित्व मूल्यांकन(डीडीए) प्रतिवेदनले बैंकको खुद सम्पत्ति (नेटवर्थ) २ अर्ब ४६ करोड रुपैयाँ ऋणात्मक रहेको देखाएको छ। प्रतिवेदनअनुसार बैंकका तत्कालीन सञ्चालक तथा उच्च व्यवस्थापनको मिलेमतोमा १ अर्ब २७ करोड रुपैयाँ नगद अपचलन भएको छ। बैंकको प्रणालीमा रकम रहेको देखाइए पनि वास्तविक नगद नराखिएको तथा कतिपय रकम रेकर्डबाहिर निकालेर प्रयोग गरिएको प्रतिवेदनमा उल्लेख छ।
कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषित, सेयर कारोबार रोक्का
डीडीए प्रतिवेदनले बैंकलाई पुरानै स्वरूपमा सञ्चालन गर्न कठिन हुने निष्कर्ष निकालेको छ। प्रतिवेदनले पुँजी वृद्धि, नयाँ संस्थापक लगानीकर्ता भित्र्याउने, आवश्यक परे संस्थाको स्तर परिवर्तन गर्ने वा उपयुक्त वित्तीय संस्थासँग मर्जरमा जाने विकल्पलाई व्यवहारिक समाधानका रूपमा सुझाएको छ।
लामो समयदेखि आफ्नो बचत फिर्ता नपाएपछि कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्ताले संघर्ष समिति गठन गरी रकम फिर्ताको माग गर्दै आएका छन्। राष्ट्र बैंकले भने निक्षेपकर्ताको हितलाई केन्द्रमा राखेर बैंकलाई पुनः सञ्चालन गर्ने उपयुक्त मोडालिटी तयार पार्ने काम भइरहेको जनाएको छ।
नयाँ संस्थापक भित्र्याउने योजना सफल भए बैंकलाई पुनर्जीवित गर्दै निक्षेपकर्ताको रकम क्रमिक रूपमा फिर्ता गर्ने बाटो खुल्ने राष्ट्र बैंकको अपेक्षा छ।