काठमाडौँ: नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासमा नियामकीय व्यवस्था उलंघन गरेको भन्दै तीन वटा वाणिज्य बैंकमाथि कारबाही गरेको छ। कारबाहीमा दुई सरकारी बैंकलाई चेतावनी दिइएको छ। प्रभु बैंकलाई सुधारात्मक निर्देशनसँगै आर्थिक जरिवाना समेत गरिएको छ।
केन्द्रीय बैंकको बैंक सुपरिवेक्षण विभागका अनुसार राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी व्यवस्था समयमै कार्यान्वयन नगरेको पाइएको छ। यसै कारण नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(१) (क) बमोजिम दुवै बैंकलाई पहिलो पटक सचेत गराइएको हो। साथै, आगामी दिनमा यस्ता निर्देशन पूर्ण रूपमा पालना गर्न पनि भनिएको छ।
प्रभु बैंकको हकमा भने निरीक्षणका क्रममा देखिएका कमजोरीहरू अपेक्षाअनुसार सुधार नभएको राष्ट्र बैंकले जनाएको छ। यसअघि सुधार योजना बनाएर लागू गर्न निर्देशन दिइए पनि पछिल्लो जोखिममा आधारित निरीक्षणमा उल्लेखित कैफियतहरू कायम रहेको पाइएपछि बैंकको सञ्चालक समितिसँग सुधारात्मक कदम चाल्ने कबुलियतनामा गराइएको छ।
त्यस्तै, बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई पनि ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको छ।
राष्ट्र बैंकका अनुसार कर्जासम्बन्धी निर्देशन पटक–पटक उलंघन गर्नु, अघिल्ला निरीक्षण प्रतिवेदनमा औंल्याइएका अधिकांश कमजोरी सुधार नगर्नु, कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थासम्बन्धी एकीकृत निर्देशनको पालना नगर्नु र कोर बैंकिङ प्रणालीको विवरणसँग नमिल्ने तथ्यांक राष्ट्र बैंकमा पेस गर्नुजस्ता कारणले सीईओमाथि कारबाही गरिएको हो।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई नियामकीय व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिँदै यस्ता कमजोरी दोहोरिए थप कडा कदम चाल्न सकिने संकेत पनि दिएको छ।


