काठमाडौं। सञ्चालनमा रहेका सामूहिक लगानी कोष (म्युचुअल फन्ड) को आकार लगातार बढ्दै जाँदा लगानी पनि विभिन्न सूचीकृत कम्पनीमा विस्तार भएको छ।
गत असार मसान्तसम्म म्युचुअल फन्डको कुल आकार ८४ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ। योजना व्यवस्थापकहरूले सार्वजनिक गरेको विवरणअनुसार कुल संकलित रकममध्ये ८१ प्रतिशत अर्थात् ६८ अर्ब ६८ करोड रुपैयाँ विभिन्न कम्पनीका धितोपत्रमा लगानी गरिएको छ।
क्षेत्रगत रूपमा हेर्दा म्युचुअल फन्डको सबैभन्दा ठूलो रोजाइ बैंकिङ क्षेत्र बनेको छ। कुल सेयर लगानीमध्ये ३१.४५ प्रतिशत हिस्सा वाणिज्य बैंकहरूमा रहेको छ।
बैंकिङपछि जलविद्युत कम्पनीमा १७.९८, विकास बैंकमा १०.९८, जीवन बीमामा १०.८०, निर्जीवन बीमामा ९.७४, माइक्रो फाइनान्समा ७.३७ र उत्पादन तथा प्रशोधन क्षेत्रमा ४.८३ प्रतिशत लगानी रहेको छ। बाँकी ६.८५ प्रतिशत लगानी होटल तथा पर्यटन, फाइनान्स, अन्य म्युचुअल फन्ड तथा रि–इन्स्योरेन्स क्षेत्रमा छ।
सेयर संख्याका आधारमा म्युचुअल फन्डले सबैभन्दा धेरै होल्डिङ प्राइम कमर्सियल बैंकमा राखेका छन्। उक्त बैंकको ४६ लाख ८७ हजार ७१ कित्ता सेयर विभिन्न म्युचुअल फन्डको स्वामित्वमा रहेको छ।
त्यसपछि एनएमबी बैंकको ४१ लाख १४ हजार ११४ कित्ता, सानिमा बैंकको ४१ लाख ४ हजार २५१ कित्ता, ग्लोबल आइएमई बैंकको ३९ लाख १७ हजार १३८ कित्ता तथा गरिमा विकास बैंकको ३८ लाख ३१ हजार ८३० कित्ता सेयर म्युचुअल फन्डको पोर्टफोलियोमा रहेको छ।
५७ म्युचअल फन्ड सञ्चालनमा, कुनको न्याभ कति ?
त्यसैगरी सिद्धार्थ बैंकको ३३ लाख १४ हजार ६८१ कित्ता, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३० लाख ५७ हजार ५७८ कित्ता, शिवम् सिमेन्ट्स लिमिटेडको २९ लाख १५ हजार ८११ कित्ता, एपीआई पावर लिमिटेडको २९ लाख ५ हजार ८२७ कित्ता तथा माउन्टेन इनर्जी नेपाल लिमिटेडको २६ लाख ४९ हजार ६२८ कित्ता सेयर पनि म्युचुअल फन्डको शीर्ष होल्डिङ सूचीमा परेका छन्।
म्युचुअल फन्डको सम्पत्ति संरचना हेर्दा कुल सम्पत्तिमध्ये १० अर्ब ३२ करोड रुपैयाँ नगद र ५ अर्ब ७८ करोड रुपैयाँ मुद्दती निक्षेपमा रहेको छ। बाँकी रकम विभिन्न सूचीकृत कम्पनीका धितोपत्रमा लगानी गरिएको छ।
दुई वर्षअघिको तुलनामा म्युचुअल फन्डको आकार उल्लेखनीय रूपमा बढेको देखिन्छ। २०८१ असार मसान्तमा ६१ अर्ब रुपैयाँ रहेको कुल आकार २०८२ असार मसान्तसम्म आइपुग्दा ८४ अर्ब ७९ करोड रुपैयाँ पुगेको हो। यसले नेपाली पुँजी बजारमा संस्थागत लगानीकर्ताको रूपमा म्युचुअल फन्डको भूमिका थप मजबुत बन्दै गएको संकेत गरेको छ।
धितोपत्र बोर्डले घटायो म्युचुअल फण्डको बीज पूँजी, शर्तसहित यस्तो छ नयाँ व्यवस्था
कर्मचारी सञ्चय कोषले आफ्नै ‘म्युचुअल फण्ड’ सञ्चालन गर्ने, ऐन संशोधन हुँदै
सोभरेन वेल्थ फन्डमार्फत विदेशी म्युचुअल फन्डमा लगानीको बाटो खुल्दै, राष्ट्र बैंकले थाल्यो अध्ययन


