काठमाडौँ- सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई झन्डै ५ अर्ब दाबी भुक्तानी गरेको छ। कोषले हालसम्म विभिन्न सुरक्षा योजनाबाट योगदानकर्तालाई रु ४ अर्ब ७९ करोड भुक्तानी गरेको हो।
कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्दै आएको छ। हालसम्म कोषबाट ८४ हजार ६७३ योगदानकर्ताले विभिन्न योजनाबापत सुविधा लिएका छन्।
औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत रु ५५ करोड ४४ लाख ४७ हजार ४०८, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत रु ६ करोड ७४ लाख ९२ हजार २६२, आश्रित परिवार सुरक्षा योजनाबापत रु ७ करोड ९६ लाख ७६ हजार २२६ र वृद्धावस्था सुरक्षा योजनाबाट रु ४ अर्ब ९ करोड ५८ लाख ३३ हजार ३९९ भुक्तानी गरिएको कोषले जनाएको छ।
कोषमा हालसम्म रु ३५ अर्ब १० करोड योगदान रकम सङ्कलन भइसकेको छ। कोषमा औपचारिक क्षेत्र र वैदेशिक क्षेत्रका श्रमिक आबद्ध हुँदै आएका छन्। अनौपचारिक र स्वरोजगार श्रमिकलाई पनि सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने क्रम अन्तिम चरणमा रहेको जनाइएको छ।
कोषमा १७ हजार ९६४ रोजगारदाता र ५ लाख ९२ हजार ९२४ श्रमिक सूचीकृत भएका छन्। सरकारले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो।
