काठमाडौं– सत्तारुढ कांग्रेसले आर्थिक वर्ष २०८०/८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ। मंगलबार प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सांसदलाई विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने दिन अनिवार्य उपस्थित हुन तथा पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्वीप जारी गरेका हुन्।
बुधबार बिहान ११ बजे प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०८० (आर्थिक वर्ष २०८०/८१ को बजेट) निर्णयार्थ प्रस्तुत हुँदै छ। १३ असार बिहान ११ बजे प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट निणयार्थ प्रस्तुत गरिने बताइएको छ। बजेटमा सत्तारुढ दलकै सांसदले असन्तुष्टि व्यक्त गरिरहेका छन्।
नेकपा एस र जसपाका शीर्ष नेताहरुले बजेट संशोधन हुनुपर्ने अन्यथा पारित गर्न नदिइने चेतावनी दिइसकेका छन्। केही दिनअघि मात्रै प्रधानमन्त्री प्रचण्डसँग नेकपा एसका नेता माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतले भेटेर बजेट संशोधनको माग गरेका थिए।


