काठमाडौं। समस्याग्रस्त सुमेरु सेभिङस एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले झण्डै २० करोड रुपैयाँ कर बुझाउन बाँकी रहेको छ। ठूला करदाता कार्यालयले सुमेरु सेभिङसलाई १९ करोड ६३ लाख ६० हजार रुपैयाँ आयकर निर्धारण गरेको छ।
करदाताको कार्यालयमा उपलब्ध प्रमाणका आधारमा कर निर्धारण गरेको ठूला करदाता कार्यालयले जनाएको छ। कर निर्धारण गर्न नपर्ने कुनै ठोस कारण भए १५ दिनभित्र प्रमाण पेश गर्न कार्यालयले सुमेरु व्यवस्थापनलाई भनेको छ। प्रमाण पेश नगरे निर्धारण गरेको कर बुझाउन कार्यालयले सुमेरु व्यवस्थापनलाई भनेको छ।
बागमती प्रदेश सरकारले २०८१ पुस २८ गते सुमेरु सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो। साढे दुई दशकदेखि सञ्चालनमा रहेको सुमेरु सहकारीको ललितपुरको पु्ल्चोक, धापाखेल, भक्तपुरको गठ्ठाघर र काठमाडौं महानगरपालिकामा कालिमाटीमा शाखा रहेको छ। सुमेरु सहकारीका सञ्चालकहरूले बचतकर्ताको १० अर्ब ३४ करोड सात लाख ३९ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ।
सुमेरु सहकारी जग्गा बिक्री नभएपछि तेस्रो पटक लिलामी सूचना, मूल्य एक अर्ब २० करोड
सुमेरु सहकारी समस्याग्रस्त घोषणा हुनुअघि पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहले बचतकर्ताको रकम फिर्ता गरी सहकारी सञ्चालन गर्ने योजना ल्याएका थिए। सिंहले २०८१ जेठमा सुमेरु सहकारी सञ्चालनको जिम्मेवारी लिने सहमति गरेका थिए। तर, उनले ल्याएको योजना अघि बढेन।
सुमेरु सहकारीका अध्यक्ष भरत महर्जनलाई ठगीको आरोपमा नेपाल प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिससमेत जारी भएको छ। महर्जन अहिलेसम्म पक्राउ परेका छैनन्। भागेर विदेश गएका महर्जन हाल बेलायतमा छन्।
महर्जन २१ वर्षसम्म आफैँ अध्यक्ष थिए। त्यसपछि संस्थाकै कर्मचारी हेमराज दाहाललाई अध्यक्ष र विनोद आचार्यलाई सचिव बनाएर सञ्चालक समितिमा अन्य आफन्त ल्याएका थिए।
