काठमाडौँ- नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। खड्का भ्रष्टाचारी ठहर भएसँगै उनलाई एक वर्ष तीन महिना कैद सजाय हुने फैसला विशेष अदालतले शुक्रबार सुनाएको हो।
उनले ९ करोड १९ लाख ६ हजार ६ सय रुपैयाँ भ्रष्टाचार गरेकाले उक्त बिगो असुल गरी सोही रकम बराबर जरिमाना पनि गराउनुपर्ने फैसलामा उल्लेख छ। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, शालिकग्राम कोइराला र खुशीप्रसाद थारुको इजलासले यस्तो फैसला सुनाएको हो।
निगममा रहँदा खड्काले भ्रष्टाचार गरेको ठहर गर्दै १८ करोड ६६ लाख रुपैयाँ असुल गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ पुस २३ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। खड्काले श्रीमती शर्मिला खड्का र अमिता लामाका नाममा अकुत रुपमा आर्जन गरेको सम्पत्ति लुकाएको देखिएको आयोगको दाबी थियो।


