पोखरा- अर्थमन्त्री डा. प्रकाशशरण महतले सुनलगायतका बहुमूल्य धातुमा विलासी कर नलगाइएको बताएका छन्। पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घसँगको शनिबार भएको भेटघाट कार्यक्रममा मन्त्री डा. महतले यस्तो उल्लेख गरेका हुन्।
‘सुनमा लक्जरी ट्याक्स लगाएको छैन, हिरामोतीमा हो, लक्जरी ट्याक्स। जसले १० लाखभन्दा माथिको किन्छ, उसलाई त्यो ट्याक्स लगाएको हो। थोरै भए पनि आम मानिसले सुन लगाउँछन्, त्यसैले सुनमा ट्याक्स लगाएको छैन,’ उनले भने, ‘सुनमा भारतमा जस्तै यहाँ पनि सुविधा दिएको छ। महिलालाई ५० हजार र पुरुषलाई २५ हजार रुपैयाँसम्म सुन खरिदमा सुविधा दिइएको छ।’
कम्तीमा एक तहको संरक्षण दिने सरकारको नीतिले पोखराको साना र मझौला उद्योग वृद्धि हुने मन्त्री डा. महतको भनाइ थियो। पोखरामा पर्यटकीय गतिविधि बढी हुने गरेको बताएका उनले पर्यटन व्यवसायले लय पक्रन थालेको उल्लेख गरे।
‘ट्राभल्समा भ्याट लगाएको छैन, एयरलाइन्सलाई लगाइएको हो। नेपाल ओरिजन भएका एयरलाइन्सको फ्लाइटमा त्यो ट्याक्स लाग्छ। व्यवसायीहरुले ट्याक्स तिर्नुपर्ने होइन,’ मन्त्री डा. महतले भने। साप्टासँगको सम्झौताअनुसार ७ प्रतिशतभन्दा बढी कर लगाउन नपाइने उनको भनाइ थियो।
नेपालको उत्पादन बढाउन आलुप्याजमा भ्याट लगाइएको उनको भनाइ थियो।
शनिबारै पोखरामा आन्तरिक राजस्व कार्यालयको निरीक्षण गरेका मन्त्री डा. महतले करको दायराभित्र पर्नेले भ्याट नलगाइदिए हुन्थ्यो भन्ने गरेको उल्लेख गरे।
‘आगामी वर्ष हाम्रो राजस्व वृद्धि हुनेछ, अर्थतन्त्र चलायमान हुन थालेको छ। पर्यटन क्षेत्र पनि चलायमान हुँदैछ, यसले राजस्व बढाउन मद्दत गर्छ। तपाईंहरुले यो जिम्मेवारीलाई उच्च कर्तव्यनिष्ठाका साथ पूरा गर्नुहुनेछ भन्ने मलाई विश्वास छ,’ मन्त्री डा.महतले कर्मचारीलाई निर्देशन दिँदै भने, ‘जति धेरै उत्पादन भयो, हामी सहज रुपमा कर उठाउन सक्छौं। जति धेर कर उठ्यो, त्यत्ति बढी राजस्व उठ्छ। जति धेरै राजस्व उठ्यो, उति बढी विकास निर्माणमा बजेट विनियोजन गर्न सक्छौं, त्यसपछि अर्थतन्त्र चलायमान हुन्छ।’
पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माणका लागि ऋण लिइएको तर सावाब्याज तिर्न मुस्किल भएको बताएका थिए। ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पनि अवस्था पनि उस्तो भएको उनको भनाइ थियो।


