काठमाडौं– पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा राती २ बजे पुनः पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो।
पहिरो पन्छ्याएर सडक दुईतर्फी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए।
पहिरोसँगै खसेको ढुंगाले लागेर ना६ख ७१० नम्बरको ट्रकचालकसमेत घाइते भएका छन्। घाइते चालकको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको प्रहरीले बताएको छ। यसअघि शनिबार रातिदेखि बन्द सडक झन्डै १८ घन्टापछि आइतबार साँझपख मात्रै खुलेको थियो। सोही स्थानमा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।


