काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेको जिकिर गरेका छन्। मंगलबार संसदको अर्थसमितिमा बोल्दै डा. महतले समास्या आउने र समाधान गर्ने क्रम संसारभर रहनेसमेत उल्लेख गरे।
‘कुनै पनि देश अर्थतन्त्र समस्यामुक्त हुँदैन । समस्या आइरहन्छ, समाधानको बाटो पहिल्याउँदै जानुपर्छ,’ उनले भने, ‘अहिले हाम्रो अर्थतन्त्रमा सकारात्मक संकेत देखा पर्न थालिसकेका छन्।’
सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री डा. महतले अर्थतन्त्र चलायमान बनाउन अर्थ मन्त्रालय समन्वयकारी भूमिकामा भएको दाबी गरे।
‘एकातिर आयात कम हुँदा भन्सार कम उठ्यो, अर्कोतिर आन्तरिक अर्थतन्त्र चलायमान भएन, जसले गर्दा भन्सार लक्ष्यअनुसार उठेन, गैरकर गत वर्षभन्दा ११ दशमलब ८८ प्रतिशत बढी उठेको छ’ उनले भने, ‘जो सम्पन्न छ, कर तिर्नुपर्ने स्थितिमा छ, उनीहरुलाई करको दायरामा ल्याएका छौं । यसले गर्दा हामी आगामी वर्ष राजस्व बढाउन सक्छौं ।’


