काठमाडौं– चालू आर्थिक वर्षको ११ महिनामा स्वदेशी र विदेशी गरी २८३ नयाँ उद्योग दर्ता भएको विवरण उद्योग विभागले सार्वजनिक गरेको छ। मुलुकभित्र रोजगारीका लागि उद्योग, व्यवसाय विस्तार हुनुको साटो संकुचन हुँदै जाँदा रोजगारी अभावमा दैनिक सयौंको संख्यामा नेपालको युवा शक्ति श्रमकै लागि विदेश जानुपर्ने अवस्था झनै बढ्ने निश्चित छ।
राज्यले युवा रोजगारीलाई प्राथमिकतामा नराखेकै कारण प्रत्येक महिना ६० हजार बढी युवा विभिन्न मुलुक पुगेको तथ्यांक छ। सरकारी तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष करिब ५ लाख थप जनशक्ति श्रम बजारमा प्रवेश गर्छन्। आन्तरिक श्रम बजारमा सबैले रोजगारी पाउने अवस्था छैन। केही प्रतिशत सरकारी र निजी संस्थाले रोजगार उपलब्ध गराए पनि त्यो न्यून संख्याको हुने गर्छ।
मुलुकमा विदेशी र स्वदेशी लगानीका उद्योग संख्या बढ्नुको साटो झनै घट्दै गएको देखिन्छ। चालू आवको ११ महिनामा स्वदेशी तथा विदेशी लगानीका २८३ नयाँ उद्योगमा प्रस्तावित लगानी २ खर्ब ३ अर्ब हाराहारी रहेको उद्योग विभागको तथ्यांकमा उल्लेख छ। गत वर्षको तुलनामा स्वदेशी र विदेशी लगानीका उद्योग दर्तामा कमी आएको विभागले बताएको छ।
चालू आवमा दर्ता भएका उद्योग सञ्चालनमा आए २० हजार बढीले रोजगारी पाउने अनुमान विभागको छ। चालू आवको ११ महिनामा १५८ साना, ६४ मझौला र ६१ ठूला प्रकृतिका उद्योग दर्ता भएका हुन्। मुलुकमा हालसम्म ९ हजार ४६ स्वदेशी तथा विदेशी लगानीका उद्योग दर्ता भएका छन्।
यी उद्योगले २८ खर्ब २७ अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। तर, प्रतिबद्धताअनुसार लगानी नभएको विभागले बताएको छ। भित्रिएको लगानीबाट ६ लाख ७७ हजार बढीका लागि रोजगारी सिर्जना भएको विभागको विवरणमा उल्लेख छ। लगानी प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत मात्र रकम उद्योगमा आउने गरेको छ।
औद्योगिक व्यवसाय ऐन, २०७६ ले ५० करोड बढी स्थिर पुँजी भएकालाई ठूला उद्योग, १५ करोडदेखि ५० करोडसम्मको स्थिर पुँजी भएकालाई मझौला उद्योग र १५ करोडसम्म स्थिर पुँजी भएका उद्योगलाई साना उद्योग मानिने गरेको छ।
आव २०७९/८० को जेठ मसान्तसम्म दर्ता भएका धेरैजसो नयाँ उद्योग उत्पादनमूलक छन् । चालू आवको ११ महिनामा दर्ता भएका उद्योगमध्ये ३७.४५ प्रतिशत उत्पादनमूलक क्षेत्रका छन्। यस क्षेत्रका मात्रै १०६ वटा नयाँ उद्योग दर्ता भएका हुन्। पर्यटन क्षेत्रमा १९.०८ प्रतिशत अर्थात् ५४ नयाँ उद्योग स्थापना हुने गरी अनुमति लिएका छन्।
ऊर्जा क्षेत्रमा १४.४८ प्रतिशत अर्थात् ४१ उद्योगले अनुमति लिएका छन्। पूर्वाधारमा एउटा उद्योग नयाँ दर्ता भएको छ। सूचना प्रविधिमा ३.८८ प्रतिशत अर्थात् ११ नयाँ उद्योग तथा मिनरल उद्योगमा चार नयाँ उद्योग र कृषि क्षेत्रमा सात नयाँ उद्योग दर्ता भएका छन्।


