काठमाडौँ– सरकारले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउन थालेको छ। चालु आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐनले व्यवस्था गरेकाले आजबाट हवाई टिकटमा १३ प्रतिशत भ्याट लाग्न थालेको हो। भ्याट लागेपछि आन्तरिक हवाइ सेवा प्रयोगकर्ता र नेपालको विमानस्थल हुँदै विदेश जानेले पनि सरकारलाई १३ प्रतिशत कर तिर्नुपर्ने भएको हो।
आन्तरिक राजस्व विभागले हवाई क्षेत्रमा लाग्ने कर सहजीकरण गर्नका लागि विभिन्न १२ बुँदासहित सूचना जारी गरेको छ। हवाई यातायातमा सेवामा भ्याट लाग्ने भएकाले कारोबारको सीमा २० लाख रुपैयाँ नाघेको मितिले ३० दिनभित्र कारोबार दर्ता गरी कर दाखिला गर्न भनेको छ। यसका लागि हवाई सेवा प्रदायकले भ्याटमा दर्ता हुनका लागि विभागमा दरखास्त दिनुपर्ने छ। विदेशी हवाई सेवा प्रदायकले भने सम्बन्धित निकायबाट जारी भएको संचालन अनुमति पत्रको प्रतिलिपिसमेत संलग्न गर्नुपर्ने व्यवस्था विभागले गरेको छ।
भ्याटमा दर्ता हुनका लागि १५ दिनभित्र निवेदन दिन पनि विभागले भनेको छ। अब सेवा प्रदायकले भ्याटबाहेकको शुल्क र भ्याटसहितको शुल्क खुलाएर टिकट जारी गर्नुपर्नेछ। यसैगरी ट्राभल एजेन्सीहरुले हवाई सेवा प्रदायकबाट टिकट खरिदमा तिरेको मूल्यमा आफ्नो नाफा वा कमिसन जोडेर आउने मूल्यमा भ्याट जोडी बिजक जारी गर्नपुर्ने छ।
यदि हवाई सेवा प्रदायकले उपभोक्ता मूल्यमा टिकट जारी गरेमा सोही मूल्यमा ट्राभल एजेन्सीले उपभोक्तालाई बीजक जारी गर्नुपर्ने व्यवस्था विभागले गरेको छ। सेवा प्रदायक कम्पनीबाट प्राप्त हुने सेवा शुल्क वा कमिसन रकममा सम्वन्धित सेवा प्रदायकको नाममा ट्राभल एजेन्सीले बीजक जारी गर्नुपर्ने हुन्छ।
यस्तै, आन्तरिक सेवा प्रदायकले जारी गर्ने मुल्यमा भ्याट संकलन गर्न विभागले भनेको छ। अन्तर्राष्ट्रिय उडानको हकमा सम्वन्धित यात्रुको गन्तव्य स्थानसम्मको टिकटको मूल्यमा भ्याट संकलन गर्नुपर्ने छ। अन्तर्राष्ट्रिय उडानका लागि जारी हुने हवाई टिकट अनलाईन माध्यमबाट खरिद गरिएको भएपनि एअरलाइन्स कम्पनीहरुले भ्याट जोड्नैपर्ने व्यवस्था विभागले गरेको छ। यस्तै विदेशबाट नेपाल आउँदाको हकमा भने टिकट मूल्यमा मूल्य अभिवृद्धि कर संकलन गरिने छैन।
अन्तर्राष्ट्रिय सेवा प्रदायकले विद्युतीय बीजक जारी गर्दा स्वीकृति लिन आवश्यक नपर्ने भएको छ। विद्युतीय बीजक जारी गर्दा प्रयोग हुने सफ्टवेयर सम्बन्धित जाकारी कार्यालयमा दिनुपर्ने बताइएको छ।
हवाई टिकट विक्री र खरिदबाट प्राप्त हुने भ्याट मिलान गरी प्रत्येक महिनाको २५ गतेभित्र सम्वन्धित कर कार्यालयमा दाखिला गर्न विभागले भनेको छ। साउन १ गतेभन्दा अगाडि जारी भएका तर साउन १ पछि यात्रा गर्ने यात्रुको हकमा भने भ्याट छुट दिने व्यवस्था विभागले गरेको छ। यद्यपि सोको विवरण भने विभागलाई जारकारी गराउनुपर्ने छ। हवाई यातायात सेवामा लाग्ने भ्याटमा मू.अ.कर ऐन २०५२, नियमावली, २०५३ र निर्देशिका, २०६९ आकर्षित हुने विभागले जनाएको छ।


