काठमाडौं– भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ समकक्षी लिउ कुनबीच भेटवार्ता भएको छ। भारतको गुजरातस्थित गान्धीनगरमा भइरहेको जी–२० बैठकको क्रममा सोमबार अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो। उहाँहरु बीचको द्विपक्षीय वार्तामा आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको अर्थ मन्त्रालयले जनाएको छ।
‘एकअर्काको चासो र सरोकारप्रति दुवै पक्ष संवेदनशील रहेका बारे पनि दुवै मन्त्रीको समान धारणा रह्यो’, अर्थमन्त्री डा. महतको चिनियाँ समकक्षीसँगको भेटबारे उल्लेख गर्दै उनको सचिवालयले भनेको छ, ‘मन्त्री डा. महतले चीनले नेपालमा गरेको विकास सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो।’
सन् २०१९ मा नेपाल भ्रमणका क्रममा चीनका राष्ट्रपतिबाट भएको सहयोग प्रतिबद्धताबारे पनि दुई देशका अर्थमन्त्रीबीच कुराकानी भएको जनाइएको छ। नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपालको समग्र आर्थिक विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
भेटमा मन्त्री डा. महतले नेपाल र चीनबीचका महत्त्वपूर्ण सीमानाकाबाट दुई देश जोड्ने सडक परियोजना सहयोगको महत्त्वपूर्ण क्षेत्र हुन सक्ने र दुवै देशका सम्बन्धित निकायले यसबारे गृहकार्य गरी छिट्टै अगाडि बढाउने विश्वास व्यक्त गरे।
सुरुङ मार्गको प्रसंगमा टोखा–छहरे सुरुङमार्ग चाँडो कार्यान्वयनमा आउने उनले आशा व्यक्त गरे। चिनियाँ अर्थमन्त्री कुनले नेपालको विकासमा सहयोगी हुन चाहेको र सहयोगका परियोजना चाँडै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे।


