गुजरात- भारतको गुजरातमा भइरहेको जी-२० अर्थमन्त्रीहरुको बैठकको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारामणबीच साइडलाइन वार्ता सम्पन्न भएको छ। वार्तामा आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
सचिवालयका अनुसार नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै अर्थमन्त्रीले जोड दिएका थिए।
अर्थमन्त्री महतले नेपालका प्रधानमन्त्रीको भारत भ्रणको क्रममा सम्पन्न विद्युत निर्यात सम्बन्धी समझदारी कार्यान्वयनबाट आगामी दस वर्षमा १० हजार मेगावाट जल विद्युत भारत निकासी भई व्यापार घाटा घटाउन मद्दत मिल्ने विषय उल्लेख गरे। दुई देशबीचको व्यापार तथा लगानी सहजीकरणको लागि मिलेर काम गर्ने विषयमा एउटै मत रहेको बताइएको छ।
भारतका अर्थमन्त्रीले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र भारतको इन्टरनेसनल पेमेन्ट लिमिटेडबीच भएको समझदारी बमोजिम संयुक्त विद्युतीय भुक्तानी संयन्त्र कार्यान्वयन गर्न छिटो काम अघि बढाउन अनुरोध गरेकी थिइन्। अर्थमन्त्री महतले छिट्टै कार्यान्वयनमा लैजाने गरी संयन्त्र स्थापना गरिने बताए।
नेपालको सूचना प्रविधि क्षेत्रमा भारतीय लगानीको लागि राम्रो विकल्प रहेको र व्यावसायिक संभाव्यता एवं पर्याप्त जनशक्ति उपलब्ध भएकोले सो क्षेत्रमा लगानी बढाउन समेत अनुरोध गर्नु भएको छ।
जी-२० सम्मेलनमा नेपाललाई पनि निमन्त्रणा गरी सहभागी हुने अवसर दिनुको साथै यो मञ्चमा नेपाल लगायत कम आय भएका देशको सरोकारका बिषयहरू राख्न अवसर दिएकोमा धन्यवाद दिए।
आपसी हितका आर्थिक क्षेत्रमा आगामी दिनमा सम्बन्ध विस्तार गर्दै जानु पर्नेमा दुवै देशका अर्थमन्त्रीले जोड दिए।


