काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि रहेको बताएका छन्। सम्मेलनमा सहभागी भएर बुधबार फर्किने क्रममा मन्त्री डा. महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
‘जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण र उपलब्धिमुलक रह्यो,’ उनले भने, ‘मुलतः ३ वटा महत्वपूर्ण विषयमा छलफल भएको छ। पहिलो, जी-२० सम्मेलनमा सहभागी भएर नेपालले आफ्नो कुरा राख्ने अवसर पायो। दोस्रो, भारत र चिनियाँ अर्थमन्त्रीहरुसँग महत्वपूर्ण भेटघाट र छलफल भयो। दुई पक्षीय भेटघाटमा लगानी र व्यापारका विषयमा छलफल भयो। तेस्रो गुजरातमा रहेका उद्योग व्यवसायीसँग भेटघाट र छलफललाई उपलब्धी र महत्वका रुपमा लिनुपर्छ। यी विषय नेपालका लागि महत्पूर्ण छन्।’
बैठकमा विकसित र अल्प विकसित राष्ट्रहरुको समूह हो। नेपाल जी–२० को सदस्य होइन, तर आमन्त्रण गरेको हुनाले कम विकसित देशहरुको समस्या जी–२० को फोरममा राख्ने महत्वपूर्ण अवसर प्राप्त भएको उनको भनाइ छ।
‘कम विकसित मुलुकले भोग्नु परेको समस्या, जलवायु परिवर्तनको समस्या, डिजिटलाइजेशनले निम्त्यिाएको चुनौति देशको सीमाभित्रै सम्हाल्न सक्ने अवस्था कमजोर भइरहेको छ,’ मन्त्री डा. महतले भने, ‘डिजिटल ट्रान्जेक्सनमार्फत् जुन आर्थिक गतिविधि हुन्छ, त्यो अरु ठाउँबाट पनि सञ्चालन हुन्छ। त्यो अवस्थामा हामीले कसरी क्षमता वृद्धिका लागि अन्तर्राष्ट्रिय समूहले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा पनि छलफल भयो।’
जलवायु परिवर्तन जसको कारणबाट हामीले क्षति व्यहोरिरहेका छौं, यसमा विकसित देशहरुले कसरी सहयोग गर्नुपर्छ भन्ने विषयमा पनि छलफल भएका मन्त्री डा. महतले बताए। जी–२० का देशहरुले संसारभरि नै आर्थिक वृद्धिदर कम भइरहेको छ, क्रय शक्तिमा समस्याहरु आएको छ।
गुजरात चेम्बर अफ कमर्स इन्ड्रस्टिजको कार्यालयमा अन्तर्क्रिया भएको थियो। नेपालमा लगानीको सम्भावनाबारे नेपालले प्रस्तुति दिएको बताएका उनले गुजरातमा नेपाली समुदायसँग पनि अन्तर्क्रिया गरेको मन्त्री डा. महतले बताए।


