काठमाडौँ- राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा हालसम्म १० जनालाई पक्राउ गरिएको जानकारी दिएको छ। बिहीबार साँझ थप दुई जनालाई पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या १० पुगेको विभागले बताएको हो।
बिहीबार साँझ पक्राउ पर्नेमा कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट छन्। पुष्कर ग्लोबल प्रालिका सञ्चालक हुन्। उनलाई विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बोलाएको थियो। त्यस क्रममा उनको पनि संलग्नता देखिएको भन्दै पक्राउ गरिएको छ। कृष्ण श्रेष्ठलाई बिहीबारै साँझ कोटेश्वरबाट पक्राउ गरिएको हो।
ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राई मंगलबार पक्राउ परेका थिए। यसैगरी रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र रामकुमार भुजेल बुधबार पक्राउ परेका हुन्। भुजेलद्वय मामाभान्जा हुन्। यसअघि कोटेश्वरबाटै पक्राउ परेका राजन श्रेष्ठ पक्राउ परेका थिए। उनीहरूलाई पाटन उच्च अदालत हाजिर गराएर १० दिन हिरासतमा राख्न अनुमति लिइएको छ ।
यही प्रकरणमा चिनियाँ नागरिक लिन जेछियाङ पनि पक्राउ परेका छन्। अन्दाजी १०० किलोसम्म सुन तस्करी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। ब्रेकसुसहित सुनको तौल १५५ किलो पुगेको राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखाले जनाएको छ।
उनीहरूमाथि अनुसन्धान अघि बढाइएको विभागले जानकारी दिएको छ।


