काठमाडौँ- नेपाल राष्ट्र बैंकले सेयर बजार, घरजग्गा कारोबार र हायरपर्चेज क्षेत्रमा प्रवाह हुने कर्जाको भार घटाउने निर्णय गरेको छ।
नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा सेयर धितो कर्जा, रियल इस्टेट कर्जा तथा गाडी कर्जाको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरवलोकन गर्ने उल्लेख छ।
सेयर बजार तथा रियल इस्टेटमा हाल १५० प्रतिशत जोखिम भार कायम गरिएको छ। अर्थमन्त्री तथा निजी क्षेत्रले घरजग्गा तथा सेयर कारोबार खुकुलो बनाउन माग गर्दै आएका थिए।
सोही अनुरुप राष्ट्र बैंकले जोखिम भार पुनरवलोकन गर्ने नीति लिएको हो। जोखिम भार घटाउने भनेपनि कति कायम गर्ने भन्ने विषयमा राष्ट्र बैंक मौन देखिएको छ।
राष्ट्र बैंकले जारी गर्ने एकीकृत निर्देशनमा यस विषयलाई समेटिने राष्ट्र बैंकले जानकारी दिएको छ।
