काभ्रेपलाञ्चोक– के तपाईं काभ्रेपलाञ्चोकको पनौती घुम्न जानुभएको छ? यदि छैन भने पनौतीमा घुम्नका लागि जाने र कहाँ बस्ने भन्ने समस्या हट्ने भएको छ। यसका लागि पनौती पर्यटन विकास केन्द्रले यहाँ घुम्न आउने पर्यटकको लागि सहज बनाउन ‘पनौती हेरिटेज पासपोर्ट’ प्रदान गर्ने भएको छ।
युनेस्कोले हरेक पर्यटकीय क्षेत्रमा पर्यटकको सहजताका लागि कहाँ के छ ? र कस्तो छ भन्ने जानकारी दिने गरी ‘हेरिटेज पासपोर्ट’ प्रदान गर्ने गरेकोमा पनौतीमा पनि सो लागू गर्न लागिएको पनौती पर्यटन विकास केन्द्रका सदस्य प्रशान्त श्रेष्ठको भनाइ छ।
ऐतिहासिक एवं सांस्कृतिक सहर पनौतीमा घुम्न आउने पर्यटकलाई सहजीकरण गर्न ‘पनौती पर्यटक सूचना केन्द्र’ लाई नयाँ व्यवस्थापनसहित सेवा सुरु गरिएको जानकारी दिए। ‘अब हरेक पर्यटकको विवरण राख्ने र पनौतीलगायतका आसपासका ठाउँ घुम्नका लागि रुट र होटल तथा घरबासका लागि आवश्यक जानकारीसहितको ‘हेरिटेज पासपोर्ट’ वितरण गरेर सहज बनाउँदै छौँ,’ उनले भने, ‘यसका लागि सबै तयारी भइसकेकाले अब छिट्टै वितरण सुरु गर्छौं।’
पनौतीमा आउने पर्यटकलाई पनौती के हो र यसको महत्व कस्तो छ भन्ने विषयमा जानकारी दिनुका साथै पनौतीभित्र कुन–कुन ठाउँ घुम्न आवश्यक छ भन्ने विषयलाई जानकरी दिन केन्द्रले आवश्यक सहयोगी सामग्रीसहितको नक्सासमेत तयार गरिसकेको छ।
केन्द्रका संस्थापक अध्यक्ष सुरेश सैँजुले पनौतीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न बनेको पर्यटक सूचना केन्द्रलाई नयाँ ढङ्गले विकास गर्दै लानु खुसीको कुरा भएको बताए।
केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले पनौतीमा पर्यटकलाई आकर्षित गर्न पर्यटकको गन्तव्य बनाउन सूचना, सुरक्षा र सुविधा पहिलो आवश्यक रहेकाले आफूहरुले त्यसको पूर्णता दिने योजनालाई समेत अगाडि सारेर काम गरिरहेको उल्लेख गरे। पनौतीका पर्यटकीय गन्तव्यबारे जानकारी, पर्यटकको सुरक्षासम्बन्धी पनि योजना बनाइरहेको बताए।
पर्यटकलाई एक ठाउँबाट अर्को ठाउँसम्म जानका लागि पर्यटक बस र बिरामी परेको अवस्थामा पर्यटक एम्बुलेन्सको व्यवस्था गर्न आवश्यक छ। त्यससँगै पनौती नगरबासिन्दाको लागि जीविकोपार्जन गर्न सकिने आधार खोजीका लागि नगरपालिकाले योजना बनाएर अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ छ।
वडा नं ७ का वडाध्यक्ष सविन ताम्राकारले आफ्नो वडा स्मारक क्षेत्रमा परेको र विश्व सम्पदा सूचीमा सूचीकृतको लागि प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए। यस्तो अवस्थामा पुरानै शैलीको नक्सा पास गर्नका लागि इञ्जिनियरलाई सोही अनुसार निर्देशन दिइएको उनको भनाइ छ।
पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पनौती नगरलाई जसरी पनि विश्व सम्पदा सूचीमा सूचीकृत गराउने काममा लागिरहेको बताए। उनले पर्यटकलाई आकर्षित गर्न आवश्यक योजना बनाएर अगाडि बढिरहेको स्पष्ट पारे।
‘विसं २०५८ सालमा पनौती स्मारक क्षेत्र घोषणा भएको हो, अब विश्वसम्पदा सूचीमा सूचीकृत गराउनु हामी सबैको दायित्व हो, त्यो सफल हुन सकेको खण्डमा पनौतीले अर्को सफलता हासिल गर्नेछ,’ उनले भने।
अहिले पनौतीको स्मारक क्षेत्रभित्रका सडकमा सहरी विकास मन्त्रालयको सहयोगमा इँटा छाप्ने काम सम्पन्न भएको र बाँकी अन्य कामको लागि पनि योजनाबद्धरुपमा लागिरहेको उनको भनाइ छ। त्यससँगै सबै वडालाई पर्यटन गन्तव्यको विकास विकास गर्ने योजनालाई अगाडि सारेको बताउँदै उनले ‘हाम्रो काम हामीले नै गरौँ’ भन्ने संस्कारको विकास गरेर अगाडि बढ्न सबैलाई आग्रह गरे।
बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामाले पनौतीको पर्यटन विकासका लागि सबैको हातेमालो आवश्यक रहेको बताउँदै पनौतीको ऐतिहासिकतालाई जोगाउनु मुख्य दायित्व भएको बताए। पनौतीमा वार्षिक १२ देखि १५ हजारसम्म पर्यटक घुम्न आउने गरेको पनौती पर्यटन विकास केन्द्रले जनाएको छ।


