काठमाडौँ- देशभर लम्पी स्किन रोगबाट संक्रमित पशुको संख्या झन्डै ११ लाख पुगेको छ। देशभर कुल १० लाख ८८ हजार पशु संक्रमित भएकोमा ७ लाख ८९ हजार निको भएका छन् २ लाख ४८ हजार संक्रमित अवस्थामा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत पशु सेवा विभागले जानकारी दिएको छ।
लम्पीको महामारीबाट मर्ने पशुको संख्या ५० हजार नाघेको छ। साउन १२ गतेसम्ममा देशभर ५० हजार ८ सयभन्दा बढी गाईगोरु, बाच्छाबाच्छी, राँगाभैंसी तथा पाडापाडी मरेको विभागले बताएको हो। देशका ३ लाख ५० हजार पशुमा लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको विभागको भनाइ छ।
लम्पीबाट कोशी प्रदेशमा ५ हजार ४२, मधेसमा १ हजार ७ सय, बागमतीमा ३ हजार ४७६, गण्डकीमा २ हजार २९५, लुम्बिनीमा ४ हजार, कर्णालीमा ८ हजार ७०३ र सुदूरपश्चिममा २५ हजार ६१० पशु मरेका छन्।
मुस्ताङ र मनाङमा नियन्त्रण
गाईभैँसीमा फैलिएको ‘लम्पी स्किन’ को सङ्क्रमण मनाङ र मुस्ताङमा नियन्त्रणमा आएको छ। प्रदेशका बाँकी नौ जिल्लामा पनि रोगको सङ्क्रमण दर घट्दै गएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।
‘मुस्ताङ र मनाङमा लम्पी स्किनको सङ्क्रमण केही रोकिएको छ, अरु जिल्लामा सङ्क्रमण दर कम हुँदै गए पनि फाट्टफुट्ट रुपमा देखिएको छ,’ मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा ग्रीष्म न्यौपानेले भने, ‘गाईभैँसीमा औषधोपचार र खोप अभियान चलिरहेको छ।’ उहाँका अनुसार प्रदेशका ८५ स्थानीय तहमध्ये ८२ मा लम्पी स्किनको सङ्क्रमण देखिएको छ।’
मुस्ताङको लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड र मनाङको मार्फाभूमि गाउँपालिकामा अहिलेसम्म उक्त रोगको सङ्क्रमण नदेखिएको महाशाखा प्रमुख डा न्यौपानेले जानकारी दिए। विसं २०७७ मा पहिलोपटक कास्की, तनहुँ र नवलपुरमा देखिएकामा हालसम्म प्रदेशका ५८ हजार नौ सय ८२ गाईभैँसी सङ्क्रमित भएका मन्त्रालयले जनाएको छ। ‘सङ्क्रमितमध्ये दुई हजार दुई सय ८४ गाईभैँसीको मृत्यु भएको छ भने २७ हजार एक सय १८ गाईभैँसी निको भएका छन्,’ उनले भने, ‘बाँकी सङ्क्रमित गाईभैँसीको अहिले पनि उपचार भइरहेको छ।’
गण्डकीमा कूल आठ लाख ५४ हजार नौ सय २५ गाईभैँसी रहेकामा हालसम्म एक लाख तीन हजार दुई सय ३० गाईभैँसीलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइएको महाशाखा प्रमुख डा न्यौपानले जानकारी दिए। ‘जिल्लास्थित भटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रमार्फत खोप अभियान सञ्चालन भइरहेको छ। सङ्क्रमित पुश भेटिए तुरुन्त औषधोपचार गरिरहेका छौँ,’ उनले भने, ‘सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जनस्तरमा सचेतना अभिवृद्धिका कार्यक्रम पनि सञ्चालन भइरहेका छन्।’
भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले जिल्लामा रोगको सङ्क्रण भित्रिएपनि फैलन नपाएको दाबी गरे। ‘ज्यादै कम सङ्ख्यामा रोगको सङ्क्रमण देखिएको थियो, अहिले नियन्त्रणमा आएको छ,’ उनी भन्छन्, ‘खोप अभियानलाई तीव्र बनाएका छौँ, पशु प्राविधिक गाउँगाउँ खटिनुभएको छ।’
हिमाली जिल्लामा गाईभैँसीपालन कम हुने भएकाले पनि रोग नियन्त्रण गर्न सहज भएको केन्द्रका प्रमुख कुसुमको भनाइ थियो। चरिचरनमा लैँजादा, एउटै पोखरीको पानी खुवाउँदा, साझा सुइँको प्रयोगलगायत कारणले ‘लम्पी स्किन’ गाईभैँसीमा सर्ने गरेको उनले बताए। सङ्क्रमित गाईभैँसीको ओसारपसार नै यो रोग फैलिनुको मुख्य कारण रहेको पशु चिकित्सक बताउँछन्।
उक्त रोगको औषधि पत्ता नलागेकाले खोप नै बढी प्रभावभारी हुने महाशाखा प्रमुख डा न्यौपानले बताउँछन्। उनका अनुसार लामखुट्टे, किर्नाजस्ता टोक्ने किराबाट ‘लम्पी स्किन’ गाईभैँसीमा सर्ने गरेको छ । भाइरसको प्रकृतिअनुसार १० देखि १५ दिनमा रोग निको हुने उहाँले जानकारी दिए।
‘लम्पी स्किन’ रोग लाग्दा गाईभैँसीमा उच्च ज्वरो आउने, तौल घट्ने, छालामा गाँठागुँठी आउनेजस्ता लक्षण देखिने गरेको छ । सयममै सङ्क्रमण नियन्त्रण गर्न नसके ठूलो पशुधनको क्षति व्यहोर्नुपर्ने अनुमान नेपाल पशु चिकित्सा परिषद्ले गरेको छ। लम्पीबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्।


