काठमाडौँ- कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा बेदुराम भुसालले सिँचाइ सुविधाका लागि पूर्व–पश्चिम नहर निर्माण गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको वार्षिक समीक्षा गोष्ठीमा उनले सिँचाइको अभावमा एक तिहाइ जग्गा बाँझो रहेकाले पूर्व–पश्चिम नहर बनाएर कृषि क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिएका हुन्।
मनसुनको समयमा पनि प्रर्याप्त पानी नपर्दा तराई क्षेत्रमा समस्या भएको बताउँदै उनले सिँचाइ नहुँदा कृषिमा देखिएको समस्याले अब सिँचाइको सुविधाका लागि पूर्व–पश्चिम नहर निर्माण गर्नुको विकल्प नरहेको उल्लेख गरे। देशका ठूलाठूला नदीबाट तराई र पहाडको चुरो क्षेत्र हुँदै पूर्व–पश्चिम नहर बनाएर जान सके मात्र कृषिमा सोचेजस्तो परिवर्तन ल्याउन सकिने उनको भनाइ थियो।
‘देशको अर्थतन्त्रको मेरुदण्ड रहेको कृषि क्षेत्रको विकासका कुरा गर्ने तर सिँचाइको सुविधा पुर्याउन नसक्ने अवस्था दुर्भाग्य हो। प्रमुख खाद्यान्न बाली धान रहेको हुँदा यसको विस्तारमा लाग्नुपर्छ,’ उनले भने, ‘भारतले चामल निर्यात रोकिसकेको अवस्थामा अब धानको उत्पादनलाई बढाउनुपर्नेछ। चैते धानको खेतीतर्फ किसानलाई आकर्षित गर्नुपर्छ।’
खाद्यान्न सङ्कट आउन नदिन बाँझो जग्गाको उपयोग गरी सिँचाइमा लगानी लगाउनुपर्ने बताउँदै उहाँले उत्पादन वृद्धिसँगै बीउविजन र रासायनिक मलको समस्या पनि समाधान गर्नुपर्ने उनको धारणा छ। मन्त्रायलले सामूहिक र करार खेतीलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको उनले जानकारी दिए। मन्त्री भुसालले मुलुकमा देखिएको अर्थतन्त्रको समस्या समाधान गर्न कृषि र पशुपालनको क्षेत्रमा लगानी बढाउन पर्ने बताए।


