काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विद्युत खरिद बिक्री (पीपीए) को खारेजीमा परेका २६३२ मेगावाटका आयोजनालाई एक वर्ष म्याद थप गर्न माग गरेको छ । पीपीए गरेर पनि फाइनान्सियल क्लोजर गर्न नसकेका ती आयोजनाहरुलाई एक वर्ष विशेष अवधि थप्न माग इप्पानले माग गरेको हो ।
आइतबार इप्पानले पत्रकार सम्मेलन गरेर फाइनान्सिङ क्लोजर गर्न नसकेको जलविद्युत् आयोजनालाई एक वर्ष म्याद थप गरिदिन आग्रह गरेको हो । यसअघि २६३२ मेगावाटका जलविद्युत आयोजनाले फाइनान्सियल क्लोजर गर्न सकेका छैनन्। निजी क्षेत्रले करौडौ रुपैयाँ खर्चेर पीपीए कुरेर बसेका छन्। झण्डै १२००० मेगावाटका विभिन्न प्रकृतिका आयोजनाहरु पीपीएका लागि आवेदन दिएर बसेका छन्। सुरुमा आवेदन दिएकालाई पहिलो प्राथमिकता दिनुपर्ने उनीहरुको माग छ।
प्रतिवेदनमा १०० मेगावा क्षमतासम्मका जलविद्युत आयोजनाले २ वर्षमा फाइनान्सियल क्लोजर गरिसक्नुपर्ने व्यवस्था गर्न सिफारिस गरिएको छ। १०० मेगावाट माथिका आयोजनाका लागि ३ वर्ष समय दिनुपर्ने उल्लेख छ। इप्पानले १०० मेगावाटसम्मका जलविद्युत आयोजनाको हकमा ३ वर्ष, १०० मेगावाटभन्दा माथिदेखि ५०० मेगावाटसम्म ४ वर्ष र ५०० मेगावाटभन्दा माथि ५ वर्ष समय दिनुपर्ने माग गरेको छ।


