काठमाडौँ- सुन तस्करी प्रकरणमा थप ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थप ४ चिनियाँलाई पक्राउ गरेको हो।
प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतका अनुसार पक्राउ पर्नेमा टियान मी, वेन टोंग, डिंग सेग्फा र ली नेंगकिया छन्। योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ।
गत साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको ब्रेक शु राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। उक्त ब्रेकसुभित्र ६० किलो ७१६ ग्राम सुन रहेको पाइएको थियो।
यो प्रकरणमा बेल्जियमका नागरिक दावा छिरिङ, सुरेन्द्र तामाङ, भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पक्राउ परेका छन्। भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम, ग्लोबल प्रालिका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, राजन श्रेष्ठ, ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र चिनियाँ नागरिक लिन जेछियाङ पक्राउ परेका छन्। यो प्रकरणमा सीआईबीले भन्सार ऐन र संगठित अपराधमा अनुसन्धान गरिरहेको हो।


