काठमाडौं– खानी खोजतलास गर्न ४३२ कम्पनीले अनुमतिपत्र पाएका छन्। सम्भावित खानीको खोजतलास गर्न ती कम्पनीलाई अनुमतिपत्र उपलब्ध गराइएको खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले बताए।
फलाम, तामा, सुन, चुनढुंगा, ग्रेनाइट, काइनाइट, खरी, रुबी, डोलोमाइटलगायत सम्भाव्य खानीको खोजतलासका लागि विभागबाट अनुमतिपत्र दिइएको हो।
गत वर्षसम्म ३७४ कम्पनीलाई खानी खोजतलासका लागि अनुमतिपत्र प्रदान गरिएको थियो। विभागले आर्थिक वर्ष २०७९÷८० मा थप ५८ कम्पनीलाई खानी खोजतलास गर्न अनुमति दिएको उनले बताए।
विभागले हालसम्म १५८ कम्पनीलाई खानी उत्खनन्का लागि अनुमतिपत्र प्रदान गरेको छ । गत वर्षसम्म १४७ कम्पनीलाई खानी उत्खनन अनुमतिपत्र दिएको विभागले आव २०७९÷८० मा थप ११ कम्पनीलाई अनुमतिपत्र उपलब्ध गराएको हो।
खानी खोजतलास तथा उत्खननका लागि आउनेमध्ये सबैभन्दा धेरै कम्पनी चिनियाँ रहेको सूचना अधिकारी बाँस्कोटाको भनाइ छ । अनुमतिपत्र प्राप्त गरेका कम्पनीमध्ये ५० प्रतिशतले मात्र उत्खननको काम सुरु गरेको र बाँकी कम्पनी उत्खननका लागि आवश्यक प्रक्रियामै छन्।


