काठमाडौं– आर्थिक वर्ष २०७९/८० रेमिट्यान्स (विप्रेषण) मा वृद्धि भएको छ। आज नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यस आवमा अघिल्लो आवको तुलनामा २१.२ प्रतिशतले रेमिट्यान्स वृद्धि भएको हो।
गत आवको असार मसान्तसम्म १२ खर्ब २० अर्ब ५६ लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्ष रेमिट्यान्स अर्थात् विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो।
गत वर्षको तथ्यांकअनुसार रेमिट्यान्स आप्रवाह आव २०७८/७९ मा भन्दा २१.२ प्रतिशतले बढेर १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ नाघेको हो। गत आवमा मासिक औसत १ खर्बभन्दा माथि रेमिट्यान्स भित्रिएको हो ।
अमेरिकी डलरको विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ भने अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो।
त्यसैगरी,समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३९२.० प्रतिशतले बढेको थियो ।
त्यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २७२ पुगेको छ ।
गत आवमा यस्ता देखिए मुलुकका आर्थिक सूचक
आज राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष मुद्रास्फीति, चालू खाता घाटा, प्रत्यक्ष वैदेशिक लगानीलयातका सूचकाङ्क खराब देखिएका छन् भने विप्रेषण, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकांक सकारात्मक छन्।
सरकारले गत आवका लागि वार्षिक औसत उपभोक्ता मुद्रास्फीति सात प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेकोमा ७.७४ प्रतिशत पुगेको छ।
अर्थात्, गत वर्षको मूल्यवृद्धिले सरकारले राखेको वाञ्छित सीमा नाघेको छ। त्यस्तै, गत आवमा समग्र वैदेशिक व्यापार घटेको छ।
गत आवमा आयात १६.१ र निर्यात २१.४ प्रतिशतले घटेको छ। अघिल्लो आवमा आयात २४.७ र निर्यात ४१.७ प्रतिशतले बढेको थियो।
गत आवको अन्त्यसम्म चालू खाता ७२ अर्ब १६ करोडले घाटामा छ। समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २४.६ प्रतिशतले कमी आई ७ अर्ब ५४ करोड रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ९६ करोड कायम भएको छ। अघिल्लो आवमा प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ५६ करोड थियो।
गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२. ३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ। गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप ५७ खर्ब १० अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा ४७ खर्ब ९७ अर्ब छ।
२०७९ असार मसान्तमा २००९.५ को बिन्दुमा रहेको नेप्से सूचकांक २०८० असार मसान्तमा २०९७.१ को बिन्दुमा कायम भएको छ। गत आवको असार मसान्तसम्म कुल धितोपत्र बजार पुँजीकरण ३० खर्ब ८२ अर्ब ५२ करोड कायम भएको छ।
