काठमाडौं–निरन्तरको वर्षाका कारण आन्तरिक हवाई उडानमा सामान्य असर परेकोे छ। वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएपछि आन्तरिक उडानमा समस्या आएको हो। प्रतिकूल मौसमका कारण आन्तरिक उडान रोकिएकोे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए।
आन्तरिक उडान रोकिए पनि अन्तर्राष्ट्रिय उडान भने नियमित सञ्चालन भइरहेको उनको भनाइ छ। विभिन्न गन्तव्यमा उडान रद्ध भएको एयरलाइन्स कम्पनीले जनाएका छन्। बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार सुर्खेतको दुई र तुम्लिङटार गन्तव्यको एक उडान रद्द भएको छ। पोखराबाट भरतपुर र पोखरा–नेपालगञ्जको सबै उडान रद्द गरिएका छन्। काठमाडौं–पोखरा गन्तव्यको उडानमा सामान्य असर परे पनि बुधबार पुनः सञ्चालन गरिएको थियो।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म वर्षा जारी रहनेछ।
म्ंगलबार, बुधबार र आज पनि यतिबेला काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेको छ। आन्तरिक उडानका अधिकांश गन्तव्य पहाडी क्षेत्र पानी परिरहेका बेला भिजिबिलिटी कम हुँदा उडान–अवतरणमा समस्या पर्ने ठाकुर बताउँछन्।
