काठमाडौं– मेगा स्टक मार्केट्सले पूर्ण कार्य गर्ने गरि धितोपत्र दलाल सेवा सुरु गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको अनुमति, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट धितोपत्र दलाल सदस्य नं ७५ र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको राफसाफ सदस्यता लिई आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर धितोपत्र दलाल सेवा सुरु गरेको हो ।
उक्त सेवाको विधिवत उद्घाटन भाद्र ८ गते होटल एलोफ्तमा भएको थियो । उक्त समारोहको अध्यक्षता कम्पनीका अध्यक्ष प्रा.डा गोविन्द नेपालले गरेका थिए भने उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल र विशेष अतिथि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले संयुक्त रुपमा गरेका थिए। विशेष अतिथिको रुपमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की सहभागी थिए ।
उक्त समारोहमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड तथा एनआइएमबी एस क्यापिटल लिमिटेडका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।
कम्पनीले सुशासन, नियमपरिपालना, उच्च प्रविधिको प्रयोगबाट लगानीकर्ताहरुलाई छिटो र सरल ग्राहक मैत्री सेवा दिने प्रतिबद्घता व्यक्त गरेको छ । धितोपत्र दलाल सेवालाई विकेन्द्रीकरण गर्ने तथा पूँजीबजारको विकासलाई टेवा पुर्याउँदै कम्पनीलाई शिर्ष धितोपत्र व्यवसायी बनाउनेमा केन्द्रित रहने जानकारी समेत गराईएको थियो ।


