गण्डकी– गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले पोखरा उपत्यकाभित्र मिटरमा ट्याक्सी नगुडेको पाइए कारबाही हुने बताए। पोखरा उद्योग वाणिज्य संघद्वारा आइतबार आयोजित सवारी व्यवस्थापनका चुनौती र समाधान विषयक अन्तरक्रियामा उनले ट्याक्सी मिटरमा गुडे÷नगुडेकोबारे कडाइका साथ अनुगमन गरिएको उल्लेख गरे।
‘मिटरमा यात्रु बोक्न तयार नहुने ट्याक्सी चालकलाई सवारी ऐनअन्तर्गत कारबाही हुन्छ। ऐनले नै न्यूनतम पाँच हजारदेखि १५ हजारसम्म जरिमाना तोकेको छ’, मन्त्री जुग्जालीले भने, ‘जस्तोसुकै दबाब र चुनौती आए पनि ट्याक्सीमा मिटर प्रणाली लागू भएरै छाड्छ।’
मन्त्रालयको विशेष पहलमा १ भदौदेखि पोखरा उपत्यकाभित्र चल्ने ट्याक्सीमा मिटर प्रणाली लागू भएको थियो। अहिले पनि कपितय ट्याक्सी चालकले मिटरमा हिँड्न आनाकानी गरिरहेको गुनासो आएको जनाउँदै उनले यात्रु ठग्ने ट्याक्सीलाई कारबाही गरिने बताए।
ट्राफिक प्रहरीसँगै मन्त्रालयको संयन्त्रले पनि अनुगमन गरिरहेको बताउँदै उनले कुनै ट्याक्सी मिटरमा गुड्न तयार नभए सम्बन्धित निकायमा खबर गर्न आग्रह गरे। मन्त्रालयका पदाधिकारीसँग पटक–पटकको छलफलपछि ट्याक्सी चालक मिटर प्रणालीमा हिँड्न तयार भएका थिए।
१ फागुन २०७८ देखि लागू हुने गरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि लामो समयसम्म पोखराका ट्याक्सी मिटर प्रणालीमा चलेका थिएनन्। ट्याक्सीले मनपरी भाडा लिने गरेको जनाउँदै जनगुनासो उठ्दै आइरहेको थियो।–रासस


