काठमाडौँ- राष्ट्रिय गौरवका आयोजनामा भइरहेको ढिलाइबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिफ्रिङ गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद ऋषिकेस पोखरेल राष्ट्रिय गौरवका आयोजना निर्माणमा भइरहेको ढिलाइबारे प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए।
सांसद पोखरेलको जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्न पर्याप्त बजेट र नियमित अनुगमन भइरहेको बताए। उनले भने, ‘म स्वयंले प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट नियमित तवरबाट कार्यतालिका बनाएर कार्यप्रगतिको जानकारी लिनुको सार्थ कार्यसम्पादनका लागि आवश्यक निर्देशन दिँदै आएको छु।’
उनले राष्ट्रिय गौरवका आयोजनामध्ये २ वटा सम्पन्न भइसकेको, १४ वटाको प्रगति ८० प्रतिशतमाथि रहेका, ५ वटाको प्रगति ५० देखि ८० प्रतिशत र २ वटाको प्रगति ५० प्रतिशतभन्दा कम रहेको बताए।
हुलाकी राजमार्गका सन्दर्भमा चितवन र पर्सामा राष्ट्रिय निकुन्ज क्षेत्रमा पर्ने र त्यसको डीपीआर तयारलगायतका कार्यमा भएको ढिलाइका कारण उक्त आयोजनाको निर्माण कार्य आगामी ३ वर्षमा वर्षभित्र सम्पन्न गर्ने नयाँ लक्ष्य निर्धारण गरिएको प्रधानमन्त्री दाहालले बताए।
पशुपति क्षेत्र विकास कोषका भौतिक प्रगति ६६ प्रतिशत भइ समष्टिगत वित्तिय प्रगति ६५.७३ प्रतिशत रहेको छ। लुम्बिनी विकास आयोजनाको हालसम्मको गुरुयोजनाको हालसम्मको भौतिक प्रगति ८८ प्रतिशत र वित्तिय प्रगति ६० प्रतिशत रहेको उनले जानकारी दिए।
निजगढ अन्र्तराष्ट्रिय विमानस्थल आयोजनाको प्रारम्भिक चरणको कार्यहरु मात्र भइरहेको लगानी एवं निर्माणका लागि उपयुक्त मोडालिटी पश्चात निर्माण कार्य अघि बढाइने उनले बताए। यस आयोजनाका लागि चालू आवमा ३५ करोड रुपैयाँ बजेट विनियोजन भएको उनले बताए।
मेलम्ची खानेपानी आयोजनामा श्रावण महिनामा आएको बाढीले पुनः हेडवक्र्स पुरिएकाले मेलम्ची बजारदेखि मेलम्चीको मुहानसम्मको पहुँचमार्गमा क्षति पुगेको छ। मनसुन रोकिएको डेढ महिनाभित्र क्षतिग्रस्त संरचनाको मर्मत सम्भार गरी मेलम्चीको पानी वितरणलाई पुनः सुचारु गरिने उनले बताए।
निर्माणमा रहेका अन्य राष्ट्रिय गौरवका आयोजनालाई यथास्रीघ रुपमा सम्पन्न गर्न सरकारले जोड दिँदै आएको उनले बताए।


