काठमाडौँ– सन् २०२३ को आठ महिनामा छ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगष्ट महिनासम्म ६ लाख १ हजार ३६० पर्यटक भित्रिएका हुन्।
अगस्ट महिनामा ६७ हजार १५३ पर्यटक नेपाल आएका छन्। अघिल्लो वर्ष सन् २०२२ को सोही अवधिमा ४१ हजार ३०४ पर्यटक नेपाल भित्रिएका थिए। सन् २०१९ मा ७३ हजार ८१४ पर्यटक नेपाल आएका थिए।
बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला महिनामा निरन्तर पर्यटक आगमन वृद्धि भइरहेको बताए। उनले सम्भावित स्रोतबजारबाट निरन्तर आगमन बढिरहेकाले सन् २०२३ मा १० लाख पर्यटक पुर्याउने लक्ष्यमा पुग्न सहज हुने विश्वास व्यक्त गरे।
अगस्टमा सबैभन्दा बढी भारतबाट २६ हजार ६६५, चीनबाट ५ हजार २७, अमेरिकाबाट ४ हजार ६२९, श्रीलङ्काबाट ३ हजार ५५८ र बङ्गलादेशबाट ३ हजार १९० पर्यटक नेपाल भित्रिएका छन्।
यस्तै, बेलायतबाट २ हजार ७११, स्पेनबाट १ हजार ५८८, जापानबाट १ हजार ५२०, इटालीबाट १ हजार ४९६ र अष्ट्रेलियाबाट १ हजार ३४७ पर्यटकले नेपाल भ्रमण गरेका छन्।


