काठमाडौँ- नेपाल आर्थिक पत्रकार समाज (सेजन)मा नयाँ कार्यसमिति चयन भएको छ। सेजनको शनिबार सम्पन्न निर्वाचनले सुजन ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
२५२ जना सदस्यले गरेको मतदानमा अध्यक्षका प्रत्यासीद्वय सरस्वती ढकाल (सरु) र शिरोमणि ढुंगानालाई पछि पार्दै ओली विजयी बनेका हुन्। ढुंगानाभन्दा ३ मत बढी पाएर ९९ मतका साथ ओली निर्वाचित भएका हुन्। ढकालले ५६ मत प्राप्त गरिन्।
उपाध्यक्षमा प्रतिस्पर्धा गरेका यसअघिका महासचिव भागवत भट्टराईलाई पछि पार्दै विनय बञ्जारा विजयी भएका छन्। बञ्जालाले १३५ मत ल्याउँदा भट्टराईले ११५ मत पाए।
महासचिवमा यसअघि नै विश्वास रेग्मी निर्विरोध निर्वाचित भइसकेका थिए।
सचिवमा सोभित थपलिया विजयी बनेका छन्। १०६ मत पाएर विजयी घोषित थपलियाले रञ्जु काफ्ले र मुना कुँवरलाई पछि पारेका हुन्। रञ्जुले ६४ मत पाउँदा मुनाले ७९ मत पाइन्।
कोषाध्यक्षमा १६० मतका साथ अच्यूत पुरी विजयी बनेका छन्। ८५ मत ल्याएकी कमला अर्याललाई फराकिलो अन्तरले पछि पार्दै अच्यूत विजयी भएका हुन्।
सदस्यमा केशु लामिछाने, हेमन्त जोशी, ममता थापा, बसन्तराज उप्रेती र छवि सापकोटा विजयी बने। लामिछानेले १८८ मत पाइन्। यो निर्वाचनमा उनले सबैभन्दा बढी मत पाएकी हुन्।
जोशीले १७९ मत पाउँदा थापाले १५६ मत ल्याएकी छन्। उप्रेतीले १४५ मत ल्याएर विजयी बन्दा सापकोटाले १२८ मत पाएर विजयी भए। १११ मत पाएकी कौशिला कुँवर र ८६ मत पाएका पवन तिमल्सिना भने सदस्यमा निर्वाचित हुन सकेनन्।


