काठमाडौँ- साउन दोस्रो साता लगातारको वर्षाका कारण आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको मुहान (हेडवर्क्स)मा क्षति पुग्यो। बाढीसहित गेग्रानको थुप्रोले मुहानको हेडवर्क्स पुरिएसँगै मेलम्चीको पानी काठमाडौँमा आउन सकिरहेको छैन।
मुहानको हेडवर्क्स नै पुरिएपछि सुरुङमार्फत पानी पठाउन नसक्दा काठमाडौंबासीलाई मेलम्चीको पानी वितरण गर्न नसकिएको आयोजनाले जनाएको छ। मुहानको हेडवर्क्ससम्म पुग्ने पहुँच मार्ग निर्माण गरेपछि मात्र उक्त ग्रेगान हटाउन सकिने आयोजनाले जनाएको छ।
पहुँच मार्ग निर्माणको काम वर्षा रोकिएसँगै सुरु गर्ने तयारी मेलम्ची खानेपानी आयोजना विकास समितिको छ। अहिले हेडवर्क्समा करिब १० मिटरको ग्रेगान थुप्रिएको छ। त्यहाँसम्म पुग्ने पहुँच मार्ग खुला गरेपछि मात्र हेडवर्क्सको मर्मत र गेग्रान हटाउन सकिनेछ। पहुँच मार्ग खुलाएपछि अस्थायी रुपमा सुरुङमार्गमा पानी पठाउन कम्तीमा डेढ महिना लाग्ने खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठ बताउँछिन्।
‘पानी रोकिएसँगै मुहानसम्मको पहुँचमार्ग खुला गर्ने काम हुन्छ,’ उनले भनिन, ‘करिब डेढ महिनाभित्र हेडवर्क्सको मर्मतलगायतका काम सकेर पानी पुनः सुरुङमा पठाउन सकिन्छ।’ यसअघि पनि पटक पटक बाढीले क्षति पुर्याएको मुहानको हेडवर्क्समा गत साउन दोस्रो साताको बाढीले कति क्षति पुर्यायो भन्ने यकिन हुन सकेको छैन।

पहुँचमार्ग पुरिएपछि आयोजनाले ड्रोनमार्फत आयोजनास्थलको अवस्था बुझेको थियो। जहाँ, मुहानको हेडवर्क्स पुरिनुका साथै अन्य संरचनामा ठूलो क्षति पुगेको देख्न सकिन्छ।
यसअघि असार २ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्ची मुहानको स्थलगत भ्रमण गरेका थिए। स्थलगत अवलोकनपछि प्रधानमन्त्री दाहालले चाँडै ग्रेगान हटाएर मेलम्चीको पानी काठमाडौँमा ल्याउने काम पूर्ववत् अवस्थामा फर्काइने बताएका थिए।

गत २०७७ चैतमा पहिलो पटक मेलम्चीको पानी काठमाडौंमा वितरण गरिएको थियो। त्यसपछि २०७८ साउनको बाढीले सुरुङमार्ग र मुहानमा क्षति पुगेसँगै केही समय पानी वितरण बन्द भएको थियो। बाढीबाट क्षतिग्रस्त संरचनाको मर्मत र अस्थायी रुपमा काठमाडौंमा पानी ल्याउन करिब २८ करोड रुपैयाँ पछिल्लो २ वर्षमा खर्च भइसकेको आयोजनाले जनाएको छ। मेलम्चीको पानी वितरण काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल) ले गरिरहेको छ।
यसअघि मेलम्चीको पहिलो चरणको १७ करोड लिटर पानी वितरण हुँदै आएको थियो। मेलम्चीको दोस्रो खण्डअन्तर्गत याङ्ग्री र लार्के खोलाबाट १७/१७ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाइएको छ।


