काठमाडौँ– सरकारले टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि चीन सरकारसँग सहयोग माग्ने तयारी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणका क्रममा उक्त सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राख्दै निर्माणका लागि सहयोग गर्न आग्रह गर्ने तयारी गरेका हुन्।
मंगलबार सुरुङमार्गको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को स्थलगत अवलोकन एवं निरीक्षणमा गरेको अर्थमन्त्री डा. प्रकासशरण महतले पनि प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा उक्त सुरुङमार्ग प्राथमिकताप्राप्त योजनाका रुपमा अघि बढाउन लागिएको बताए।
यसअघि वैशाख १५ मा अर्थमन्त्री डा. महत र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच पनि सुरुङमार्गका बिषयमा छलफल भएको थियो। त्यसक्रममा राजदूत सोङले चीन सरकारले पूर्वाधार विकास निर्माणमा नेपाललाई ८० अर्ब रुपैयाँ सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्ति गरेका थिए।
सरकारले पनि उक्त सुरुङमार्ग आयोजनालाई उच्च प्राथमिकतामा राख्दै चालू आव २०८०/०८१ मा १ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
चालू आवदेखि सुरुङमार्ग निर्माण अघि बढाउने सरकारको तयारी छ। काठमाडौंको टोखा नगरपालिका झोर देखि नुवाकोटको शिवपुरी नगरपालिका वडा नम्बर ७ र ८ को क्षेत्रमा उक्त सुरुङमार्ग बनाउन सकिने प्रारम्भिक रुपमा अध्ययन र इआए भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।
उक्त सुरुङमार्ग निर्माणका लागि ४० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ। उक्त लगानी नेपाल सरकार आफैँले जुटाउन नसक्ने हुँदा चीन सरकारको सहयोग लिन खोजिएको देखिन्छ।
मंगलबार स्थलगत रुपमा अवलोकनमा पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पनि सरकारले यस सुरुङमार्ग आयोजनालाई मुख्य प्राथमिकतामा राखेको बताए। चालू आव देखि नै सुरुङमार्ग निर्माणको काम अघि बढाउने गरी प्रक्रिया सुरु गरिएको उनले बताए।


