काठमाडौँ- केही दिनअघि सम्म १०५ रुपैयाँमा पाइने चिनीको मूल्य एकाएक बढेर प्रतिकिलो १४० रुपैयाँसम्म पुगेपछि सरकारले आयातका लागि अनुमति दिएको छ।
सरकारी व्यापार कम्पनीसँग चिनी नभएको, भारतमा चिनीको उत्पादन कम हुने समाचार आएको र नेपालमा चाडपर्वको मौसम सुरु भएसँगै नेपाली बजारमा चिनी अभाव भएको भन्दै व्यवसायीले कार्टेलिङ गरी मूल्य बढाएपछि सरकारले आयातको इजाजत दिने निर्णय गरेको हो।
व्यापारीले चाडपर्व सुरु भएसँगै चिनीको मूल्य बढाउँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीहरूले बताउने गरेका छन्।
व्यापारीले मूल्य बढाउनकै लागि कार्टेलिङ सुरु गरेपछिस सरकारले २० हजार टन आयात गर्न अनुमति दिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले चाडपर्वको समयमा चिनी अभाव हुन नदिन साल्ट ट्रेडिङ कम्पनी लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १० हजार टनका दरले आयात गर्न अनुमति दिने निर्णय गरेको हो।
यो चिनी दसैँ तथा तिहार अगाडि आइपुग्ने सम्भावना कम भएको सरकारी अधिकारीहरुको आकलन छ।


