काठमाडौं– सरकारले गत आर्थिक २०७९/८० मा देशभर ७४१ वटा झोलुंगे पुल निर्माण गरेको छ। सरकारले गत आवमा देशभर ७३० झोलुंगे पुल बनाउने लक्ष्य राखेको थियो, जुन अघिल्लो आव २०७८/७९ को तुलनामा २५ प्रतिशतले बढी हो।
देशभर झोलुंगे पुलको संख्या ११ हजार १ सय २ पुगेको स्थानीय पूर्वाधार विकास विभागको तथ्यांकमा उल्लेख छ। यस्तै, गत आवमा सय वटा नयाँ झोलुंगे पुल निर्माणका लागि ठेक्का व्यवस्थापन भएको छ । साथै, आठ सय झोलुंगे पुलका लागि डिपिआर तयार भएको छ।
पूर्वसहरी विकासमन्त्री विक्रम पाण्डेले गत माघमा पदभार ग्रहण गर्दै हरेक आधा घन्टाको फरकमा झोलुंगे पुल निर्माण गर्ने निर्णय गरेका थिए । देशभर भएका सबै तुइन विस्थापन गरेर झोलुंगे पुल बनाउने उनको निर्णय थियो। तर, नेपालमा कति झोलुंगे पुल चाहिन्छ भन्ने विषयमा अहिलेसम्म खास अध्ययन भइसकेको छैन।


