काठमाडौं– हेटौंडास्थित सन्चो अस्पतालका सहकर्मीद्वय कुटिएको विरोधमा डाक्टरले आकस्मिकबाहेकका सबै सेवा बन्द गरिँदा उपचार पाउनबाट सर्वसाधारण वञ्चित भएका छन् । नेपाल चिकित्सक संघको नेतृत्वमा आज देशभरका स्वास्थ्य संस्थामा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो।
गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि भएको कुटपिटको घटनामा संलग्नलाई कारबाही माग्दै चिकित्सक संघको आह्वानमा ओपीडी सेवा बन्द गरिएको हो।
संघले डाक्टरलाई कुटपिट गर्नेहरुलाई ७२ घन्टाभित्र कारबाहीको दायरामा ल्याउन माग गरेको थियो । तर सो समयावधिसम्म पनि कारबाही नगरिएकाले आज सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गरेको हो। यद्यपि, हेटौंडामा डाक्टर कुट्नेलाई प्रहरीले पक्राउ गरिसकेको छ।


