उदयपुर– चार महिनापछि सौर्य सिमेन्टमा चुनढुंगा ढुवानी गर्ने तयारी भएको छ। नगरपालिकासहित सरोकारवाला पक्षबीच भएको छलफलले चुनढुंगा ढुवानी गर्ने वातावरण तयार गरेको हो।
कटारी नगरपालिकामा बसेको दुई पक्षीय छलफलपश्चात टिपर सञ्चालनको तयारी गरिएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए। स्थानीय वडा र टोल साथै वन समूह नगरपालिकाको समन्वयमा छलफल भएको थियो।
उदयपुरको कटारी-८ आहालेस्थित खानी क्षेत्रका स्थानीयले अवरोध गरेपछि चुनढुंगाको ढुवानी रोकिएको थियो। चुनढुंगा ढुवानी हुन छोडेपछि सिरहाको मिर्चैयास्थित सौर्य सिमेन्ट लिमिटेडको उत्पादन चार महिनायता प्रभावित भएको थियो।
कटारी नगरपालिकाको ४, ५, र ७ नं वडाका सामुदायिक वन उपभोक्ता समिति तथा स्थानीयले आफ्ना माग सुनुवाइ नगरेको भन्दै उद्योगको चुनढुङ्गा ढुवानी गर्ने टिपर सञ्चालन गर्न दिएका थिएनन्।
‘दुई पक्षका साथै सरोकारवालाबीचको छलफलमा माग पूरा गर्दै जाने प्रतिबद्धता जनाएपछि खानी सञ्चालन गर्न दिने तयारी हुँदैछ,’ प्रमुख श्रेष्ठले भने।
सरोकारवालाको छलफलबाट उद्योगले प्रभावित स्थानीयलाई गर्दै आएको विभिन्न सहयोग नगरपालिकाबाट एकद्वार प्रणालीबाट सञ्चालन गर्ने सहमति भएको उनको भनाइ छ।
‘प्रत्येक समूहका पदाधिकारी र व्यक्तिसँग डिल गरेर सञ्चालन गर्दा प्रभावकारी बनेन,’ उद्योग सञ्चालक सौर्य सिमेन्ट लिमिटेडका सिनियर भायस प्रेसिडेन्ट राजन झाले भने, ‘हामी प्रभावितका माग पूरा गर्दै जान्छौँ तर नगरपालिका र वडा सरकारसँग समन्वय गरी एकद्वार प्रणालीमा काम गर्छौँ।’
सामुदायिक वनले वन क्षेत्रको सडकबाट उद्योगले ढुवानी गर्दा भएको क्षति डिभिजन वन कार्यालय कटारीको समन्वयमा अध्ययन गरी क्षतिपूर्ति दिनुपर्ने, यसअघि भएको सडक ढलान, खानेपानी, स्वास्थ्यसँग सम्बन्धित शिविर यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने माग राख्दै आएका छन्।
कटारी-८ का वडाध्यक्ष नवीन्द्र तामाङले प्रभावितको माग सम्बोधन गरी उद्योग सञ्चालनमा आउने वातावरण तयार पार्ने प्रयास भइरहेको बताए। नियमित सञ्चालन हुने वातावरण नगरपालिकाबाट तयार गरिदिए आफूहरू प्रभावित क्षेत्रको माग नगरपालिकाकै समन्वयमा पूरा गर्ने सौर्य सिमेन्ट लिमिटेडको छ।


