प्रजातान्त्रिक समाजवादलाई नेपाली कांग्रेसले आफ्नो मूल सिद्धान्त मानेको छ। बीपी कोइरालाले प्रजातान्त्रिक समाजवाद भनेको गाउँको विकास/समृद्धि र जनताको खुसी भएको बताउनु भएको थियो। गाउँको विकास नै प्रजातान्त्रिक समाजवाद हो।
बीपीले आफैँ प्रजातान्त्रिक समाजवादको परिभाषा दिइसकेपछि त्यस विषयमा अरु परिभाषा खोजिराख्न जरुरी भएन। तर उहाँले भनेको प्रजातान्त्रिक समाजवादको मर्म के हो भन्ने विषयमा भने प्रवेश गर्नुपर्छ। बीपीको प्रजातान्त्रिक समाजवादमा ‘प्रजातन्त्र’ भन्ने एउटा राजनीतिक शब्द र समाजवाद भन्ने अर्को आर्थिक विषय जोडिएको अर्को विषय छ।
जनतालाई प्रजातान्त्रिक अधिकारसम्पन्न बनाएपछि मात्रै मुलुकको आर्थिक समृद्धिको बाटो तय गर्न सकिन्छ। निरंकुशताभित्र आर्थिक समृद्धि सम्भव छैन। बीपीको निर्क्यौल पनि त्यही नै हो। त्यसकारण बीपीको नेतृत्वमा प्रजातन्त्र प्राप्तिका लागि लडाइँ भएको हो।
अहिलेको अवस्थासम्म आइपुग्दा हामीले राजनीतिक अधिकार प्राप्त गरिसक्यौँ। अर्को महत्वपूर्ण पाटो समाजवाद हो। यो पाटोको विषयमा हामीले त्यति गम्भीर र जिम्मेवार भएर छलफल/बहस गरेनौँ। अब चाहिँ यसलाई उजागर गर्नुपर्छ भनेर मैले ‘बीपी शिक्षाको अवधारणा’लाई लिएर आएको छु।
हिजो हतियारबाट राजनीतिक लडाइँ लडियो। व्यवहार, संगठन, नाराबाट राजनीतिक आन्दोलन भयो। ठिक त्यसै गरी आर्थिक लडाइँ लड्न सकिन्न। आर्थिक लडाइँको स्वरुप भनेको राजनीतिक लडाइँको स्वरुप भन्दा फरक चिज हो। हिजो हामीले प्रयोग गरेका हतियार, देखाएका व्यवहार र हामीले सञ्चालन गरेका संगठनको शैलीले आर्थिक लडाइँको उद्देश्य प्राप्त गर्न सकिन्न। यसलाई फरक तरिकाबाट सोच्नुपर्छ, छलफल र बहस चलाउनुपर्छ भनेर मैले बीपी शिक्षाको अवधारणालाई निर्माण गरेको हुँ।
बीपीको सिद्धान्त व्यवहारमा उतार्न उद्यमशीलता, उत्पादन र विवेक; यी तीन चिजको संयोजन आवश्यक छ।
बीपीले प्रजातान्त्रिक समाजवादको कुरा गर्दा उत्पादनमा जोड दिनुभएको छ। उत्पादनले निर्माण गर्ने पुँजीलाई विवेकसम्मत र न्यायोचित ढंगले वितरण गर्नुपर्छ। प्रचुर उत्पादन गर्न सक्यौँ र न्यायोचित वितरणको परम्परा बसाउन सकियो भने प्रजातान्त्रिक समाजवादको जग बस्छ।
हामीले उत्पादन र त्यसबाट निर्माण हुने पुँजी वितरण गर्ने हो, गरिबी वितरण गर्ने होइन। तर कसरी त? न्यायोचित तरिकाबाट। भएकाले नभएकालाई सहयोग गर्ने हो। बीपीले ‘उत्पादन भनेको पुँजीवादसँग जोडिएको विषय हो, वितरण भनेको साम्यवादसँग नजिक छ’ भन्नुभएको छ।
पुँजीवाद भनेको प्रचुर उत्पादनसँग जोडिन्छ भने साम्यवाद न्यायोचित वितरणसँग जोडिन्छ। पुँजीवादले मात्रै सम्पत्तिको निर्माण गर्न सक्छ, वस्तुको उत्पादन गर्न सक्छ। त्यो हो भने त उत्पादन महत्वपूर्ण रहेछ। बीपीको कुरासँग जोडेर हेर्ने हो भने हामीले उत्पादनमा ध्यान दिन पर्छ।
न्यायोचित वितरण गर्ने भनिसकेपछि अनुसाशन र सुशाशनको कुरा पनि जोडिन्छ। मान्छे ठूलो होइन, असल हुनुपर्छ भन्ने बीपीको जुन कुरा छ, त्यो भनेको मैले अरुलाई सहयोग गर्नुपर्छ भन्ने विवेकजन्य कुरा हो। त्यसका लागि मान्छेमा अनुशासन चाहिन्छ। यो असल शिक्षाबाट मात्रै सम्भव हुन सक्छ। उत्पादन त्यसै हुन सक्ने कुरा भएन। त्यसका लागि उद्यमशीलता र सिप चाहियो। उद्यमशीलताका क्षेत्र फरक-फरक छन्। यो छलफलको ठूलो विषय बन्न सक्छ।
बीपीले सूत्रबद्ध रुपमा भन्नुभएका कुरालाई व्याख्या गर्नुभएन। त्यो व्याख्या गर्ने जिम्मा कांग्रेसका मान्छेहरुलाई छाडिदिनुभयो। उत्तराधिकारीहरुले मेरा कुरा बुझ्छन् भन्ने उहाँलाई लाग्यो होला। तर त्यसो भएन। बीपीको सिद्धान्त व्यवहारमा उतार्न उद्यमशीलता, उत्पादन र विवेक; यी तीन चिजको संयोजन आवश्यक छ। यी तीन विषयको तादाम्यता मिलाउने कुरा नै बीपी शिक्षा हो। यसलाई सूत्रबद्ध गर्दा ‘बीपी शिक्षा = उद्यमशीलता + उत्पादन + विवेक’ भन्ने निस्कन्छ।
जबसम्म कृषि पेसालाई सम्मानित पेसाका रुपमा हेरिँदैन, तबसम्म आत्भनिर्भरताको कुरा फगत नारा मात्र हो।
यहाँ नेर प्रश्न आउँछ- कसले गर्ने त उत्पादन? राजनीतिक नेताहरू भाषण मात्रै गर्ने। कार्यकर्ताहूरु नेताहरुको वरीपरी मात्रै घुम्ने। नेताहरुको जयजयकार गर्ने र झण्डा लिएर सडकमा दौडिने कुरालाई मात्रै राजनीति भन्ने प्रवृत्ति छ। नेता पनि उत्पादनसँग नजोडिने र कार्यकर्ता पनि नजोडिने स्थिति छ।
सोझासाझा जनता मात्रै उत्पादनमा जोडिएका छन्। कृषिसँग उनीहरु नै जोडिएका छन्। उनीहरुले गरेको उत्पादनलाई हामी नेताहरू सिंहदरबारमा बसेर वितरण गर्ने जस्तो भएको छ। सम्पत्ति आर्जन एउटाले गरिदिन्छ, अनि वितरण अर्कोले गर्ने भन्ने कुरा प्राकृतिक न्यायको सिद्धान्त विपरीत भयो। जसले उत्पादन गर्छ, वितरण गर्ने अधिकार पनि उसैले राख्छ। त्यसो हो भने नेता कार्यकर्ताहरु उत्पादनसँग किन नजोडिने?
उत्पादन भन्ने बित्तिकै कृषिसँग मात्रै जोडिने कुरा रहेन। उद्योगधन्दा, व्यापार/व्यवसाय, सेवा सबै उत्पादन अन्तर्गत नै पर्छ। जो जहाँ जसलाई जसरी अनुकुल हुन्छ। कुनै न कुनै रुपमा उद्यमशीलतासँग जोडिने हो। त्यसमा नयाँपन दिन आवश्यक छ। पुस्तौनी व्यापारमा नयाँपन दिनु पर्छ। इनोभेटिभ तरिकाले त्यसलाई आयआर्जनसँग जोड्नुपर्यो। त्यो क्षमता नेताहरुले राख्नुपर्यो।
जनतासँगै सँधै उद्यमशीलताको अपेक्षा राखेर हुँदैन। उद्यमशीलता र देश विकासका ठूला भाषण गर्ने नेता/कार्यकर्ताले उद्यमशीलताको क्षमता किन नदेखाउने? भाषणले त उद्यमशीलता हुँदैन। त्यसका लागि फिल्डमै बसेर काम गर्नुपर्यो। त्यसकारण नेता/कार्यकर्ता उद्यमशीलतासँग जोडिनुपर्छ।
अहिले कृषिमा कोही आकर्षित छैनन्। कृषिमा लगानी उठ्दैन। लगानी उठाउन र मुनाफा आर्जन गर्न सरकारी वैज्ञानिक रुपमा नीति नियम बनाउन सकेको छैन। सरकारी तवरबाट सहयोग र सुविधा कृषकले पाउन सकेका छैनन्। कृषिमा लाग्ने मान्छेहरुसँग सिपको पनि अभाव रह्यो। महत्वपूर्ण कुरा त कृषिमा लाग्ने मान्छेले सम्मानित महसुस नै गर्न सकेनन्।
मान्छेहरुले कृषिमा लागेको छु, यो नराम्रो पेसा हो, कसैले गर्न नसक्ने पेसा हो। कमजोर मान्छेले गर्ने पेसा हो भनेर लुघुताभाष राखिरहेको देखिन्छ। तर पनि हामी भन्दैछौँ- नेपाल कृषिप्रधान देश हो। कृषिमा आत्मनिर्भर बनाउनुपर्छ भनिरहेका छौँ।
जबसम्म कृषि पेसालाई सम्मानित पेसाका रुपमा हेरिँदैन, तबसम्म आत्भनिर्भरताको कुरा फगत नारा मात्र हो। अब कि नेपाल कृषिप्रधान देश होइन भन्न पर्यो। जनताको गुजारा गर्ने अर्को बाटो देखाइदिन पर्यो। होइन भने कृषि पेसालाई सम्मानित पेसा बनाउन प्रयत्न गर्नुपर्यो र राजनीतिक नेता/कार्यकर्ता पनि त्यसमा जोडिन पर्यो। त्यसो हुँदा किसानको आत्मसम्मान रहन्छ र उनीहरुलाई आत्मबल पनि बढ्छ। मुलुकका नेताहरु कृषिमा लाग्दा राम्रो म्यासेज जान्छ। कृषि सम्मानित पेसा बन्छ।
मैले ‘एक नेता, एक उद्यमशीलता’ नारा नै बनाएको छु। अब शब्दविनाको सन्देश दिनुपर्छ। अब खाली भाषण गरेर मात्रै हुँदैन। अब व्यवहारबाट सन्देश दिनुपर्छ।
नेताहरु मुलुक विकासको रोलमोडल हुनुपर्यो। नेताले के गरिरहेको छ भन्ने हेरेर तलका मान्छेहरुले पनि त्यो बाटो अबलम्बन गर्नुपर्छ। अहिले त नेताहरुले भाषण मात्रै गर्छन्। त्यसले तलका मान्छेहरु पनि कुरा र गाली गर्ने मात्रै भए। नेताहरु उद्योगधन्दा, उत्पादनसँग जोडिएको भए तलका नागरिकहरु पनि त्यसरी नै जोडिन्थे। त्यसकारणले उत्पादनसँग कांग्रेस अभियान नै मैले सुरु गरेको छु। अहिले कास्कीमा त्यो अभियान सुरु भएको छ। छलफल र बहसका रुपमा यो सक्रिय छ।
कुनै पनि विचारलाई पहिला समाजमा बहसकै रुपमा ल्याउने हो। त्यो बहसपछि समाजले धारणा निर्माण गर्छ। त्यसपछि त्यो विचार स्थापित हुन्छ। त्यसकारण अहिले हरेक नेता/कार्यकर्ता उद्यमशीलतासँग जोड्नुपर्छ भनिरहेको छु। मैले ‘एक नेता, एक उद्यमशीलता’ नारा नै बनाएको छु। अब शब्दविनाको सन्देश दिनुपर्छ। अब खाली भाषण गरेर मात्रै हुँदैन। अब व्यवहारबाट सन्देश दिनुपर्छ।
हाम्रा कुरा जनताले धेरै सुने, अब देखेर अनुभव गर्ने अवस्था बनाउनुपर्छ। मेरो अभियानलाई व्यवहारमा उतार्नका लागि पहिला स्थापित गर्न पर्यो। तर उत्पादनसँग जोडिने कुरालाई कसैले नराम्रो हो भन्दैन। दोस्रो चरणमा फेरी बहस र छलफल भएका छन्। म आफैँ पनि कृषि पर्यटनसँग जोडिएको छु। मैले उद्यमशीलताको कुरा म नेता हुनका लागि र आकर्षण दिनका लागि मात्रै भनिरहेको छैन। मैले हरेक ठाउँमा अबको बाटो यो हो भनेर ‘मोटिभेसन’ गर्ने काम गरिरहेको छु।
बजारका केही उद्योगी/व्यवसायीकाबीचमा एउटा संयन्त्र निर्माण गर्ने काम पनि गरेको छु। बजारमा बस्ने मान्छेहरुका विषयमा गाउँका मान्छेले सोच्ने दृष्टिकोण फरक छ। बजारमा बस्नेहरुले हाम्रो शोषण गरेका छन् भन्ने गाउँमा बस्ने मान्छेहरुले ठानिरहेका छन्। सहरमा बस्नेहरू शोषक हुन्, सामन्त हुन् भन्ने परेको छ। गाउँमा सिप छैन, पैसाको पनि अभाव छ। मैले तपाईँहरुले उद्योगधन्दा, व्यापार जे गरिरहनुभएको छ, त्यसलाई जारी राख्नुस् र व्यवस्थित बनाउनुस्। तर सामाजिक उत्तरदायित्व अन्तर्गत केही साधान स्रोत र सिपलाई गाउँमा पनि पुर्याइदिनुस् भनेको छु।
अब बजारको त्यो संयन्त्रलाई गाउँमा उकाल्ने र विशेषगरी बेरोजगार युवामा केन्द्रित गर्ने काम सुरु भएको छ। युवाहरुसँग बसेर सम्भावनाको खोजी गर्ने र सहयोग प्रदान गर्ने भन्ने विषयमा छलफल भएको छ। व्यवसायी र पार्टीले यो अभियान चलाइरहेको छ। व्यवसायीले सक्ने ठाउँमा उहाँहरुले र पार्टीले गरिदिनुपर्ने सहजीकरण गरिदिने गरी काम भइरहेको छ। गाँउका मान्छेले उत्पादन गर्ने र बजारका मान्छेले उत्पादनलाई उचित मूल्य दिएर बजारीकरण गरिदिने र पार्टीले ब्रिजको काम गर्ने अवधारणा हो। सरकारलाई पनि दबाब दिने काम पार्टीले गर्नेगरी हामी अघि बढाइरहेका छौँ।
यसमा ‘एक नेता, एक उद्यमशीलता’को कुरा नीतिगत रुपमै कांग्रेसको संरचनामा प्रवेश गराउने गरी प्रस्ताव लैजाने तयारी गरेको छु।
गाउँमा भएको सम्भावनालाई साधनस्रोतको उपयोग गरेर उत्पादन गर्ने मुख्य उद्देश्य हो। गाउँमै रोजगारी सिर्जना भयो भने गाउँमा मान्छे अडिन्छन्। अहिले त रोजगारी नपाएर मानिसहरु बजार केन्द्रित भइरहेका छन्। यसमा थप छलफल र बहस भइरहेको छ। यो अवधारणा आएको धेरै भएको छैन। यसमा थप ‘रिसर्च’ गर्नुपर्ने छ। गाउँस्तरमा हुने बहसबाट धेरै कुरा आउलान्। त्यसलाई पनि थप आधार मानेर हामीले स्ट्राटेजी बनाउनुपर्ने पनि हुन सक्छ।
बहस सुरु हुने बित्तिकै परिणाम प्राप्त हुन्छ भन्ने हुँदैन। तसर्थ केही समयमा परिणाम देखिन्छ। बहस नै सुरु नगर्ने हो भने कहीँ पनि पुगिँदैन। उद्यमशीलताको निर्माण विद्यालय शिक्षाबाटै हुनुपर्छ। विद्यालय शिक्षामा आमूल परिवर्तन गर्नुपर्छ। मान्छे ठूलो होइन असल हुनुपर्छ भन्ने अवधारणालाई केन्द्रमा राखेर पाठ्यक्रम बनाउनुपर्छ। यसो भयो भने बच्चादेखि नै उद्यमशीलताबारे बुझ्न सहयोग पुग्छ। आयआर्जनमा उनीहरुको ध्यान केन्द्रित हुन्छ।
अहिलेको पुस्ता हामी भन्दा धेरै तेजिलो छ। उनीहरु माझ हामीले विश्वास निर्माण गर्न सकेका छैनौं। त्यसो गर्न सकियो भने मात्रै प्रजातान्त्रिक समाजवादको अवधारणालाई बीपी शिक्षा मार्फत स्थापित गर्न सकिन्छ।
बीपी शिक्षाको यो अभियानका विषयमा मैले पार्टीका महामन्त्री गगन थापासँग छलफल गरेको छु। उत्पादनसँग कांग्रेस भन्ने कार्यक्रम पोखरामा थापाकै आतिथ्यतामा सुरु पनि भइसकेको छ। त्यो कार्यक्रमको प्रभाव एकदमै राम्रो रह्यो। केन्द्रका अन्य नेताहरुसँग पनि यो अवधारणाका विषयमा निरन्तर छलफल भइरहेकै छ। केन्द्रीय समितिको बैठकमा पनि यो विषयले प्रवेश पाएको छ। राजनीतिलाई उद्यमशीलतासँग जोडेर लैजानुपर्छ भनेर छलफल भएको छ।
आगामी महासिमितिको बैठकमा पनि मैले उत्पादनसँग कांग्रेस भन्ने अवधारणा पेस गर्दैछु। अब हामीले राजनीतिलाई अलि फरक तरिकाले अघि नबढाउने हो भने बीपीको प्रजातान्त्रिक समाजवादको दर्शन नजिक हामी पुग्न सकिँदैन। यसमा ‘एक नेता, एक उद्यमशीलता’को कुरा नीतिगत रुपमै कांग्रेसको संरचनामा प्रवेश गराउनुपर्छ भन्ने हिसाबले प्रस्ताव लैजाने तयारी गरेको छु। यसका लागि पदाधिकारीहरुसँग छलफल गरिरहेको छु। नेताहरू पोजेटिभ हुनुहुन्छ। यो प्रस्तावबारे छलफल र बहस भइसकेपछि अभियानले थप गति लिन्छ।



